देशमा विद्यमान सङ्कटको डटेर सामना गरौँः प्रधानमन्त्री कार्की


काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान सङ्कट र बेथितिहरुको सामना डटेर गर्नुपर्नेमा जोड दिएकी छन्। उनले शिक्षित जनशक्तिले जिम्मेवारी बोधसहित राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारिन् ।

आइतबार काठमाडौँमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशमा देखिएका विकृति र विसंगतिको अन्त्यका लागि अब पछि नहटिकन अघि बढ्नुपर्ने समय आएको बताइन्।

उच्च शिक्षा हासिल गरेका व्यक्तिहरुले स्वदेशमै आफ्ना ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग गरी राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले उच्च शिक्षा हासिल गरेर विदेश गएका विद्यार्थीहरुले जहाँ रहे पनि नेपालले गर्व गर्न सक्ने नागरिकको पहिचान बनाउँदै अघि बढ्नुपर्ने उल्लेख गरिन् । साथै, उहाँले उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई समयअनुकूल अझै गतिशील र प्रभावकारी बन्न सचेत गराइन् ।

उनले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मसात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समेटेर शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्नुपर्ने धारणा राखिन्। विश्वविद्यालयबाट आर्जन गरिएको ज्ञान र सीप व्यक्तिगत उन्नति मात्र नभई समग्र राष्ट्र निर्माणमा प्रयोग हुने विश्वास समेत उनले व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले युवाहरूलाई देशबाट भाग्ने होइन, देशका समस्याहरूको सामना गर्दै समाधान खोज्न प्रेरित गरिन्। “यो देश हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नबनाए अरु को आएर बनाइदिन्छ र?” भन्दै उनले जहाँ अवसर छैन, त्यहाँ नयाँ अवसर सिर्जना गर्न आग्रह गरिन्। सकेसम्म नेपालमै केही गर्ने र जहाँ गए पनि नेपाललाई चिनाउने नागरिक बन्नुपर्ने उनको भनाइ थियो।