राम्रो ग्रेड ल्याउनेले डाक्टर–इन्जिनियर नै पढ्नुपर्छ भन्ने सोच तोड्न बहस आवश्यक छ : डा. आचार्य


काठमाडौँ । राम्रो ग्रेड ल्याउने विद्यार्थीले अनिवार्य रूपमा डाक्टर वा इन्जिनियर नै बन्नुपर्छ भन्ने सोच नेपालमा अझै गहिरो रूपमा जरा गाडेर बसेको पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत लेख्दै विकसित मुलुकहरूमा मेधावी विद्यार्थीको करिअर छनोट विज्ञान तथा प्राविधिक क्षेत्रमा मात्रै सीमित नहुने उल्लेख गरेका छन्।

डा. आचार्यका अनुसार नेपालमा स्कुल तहमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई डाक्टरी वा इन्जिनियरिङ पढ्नैपर्छ भन्ने सामाजिक दबाब अझै बलियो छ। “कक्षामा पहिलो हुने विद्यार्थीलाई पाइलट, डाक्टर वा इन्जिनियर बन्ने भविष्य देखाइन्छ, अन्य विषयबारे गम्भीर छलफल नै हुँदैन,” उनले लेखेका छन्।

उनले आफ्नै अनुभव साट्दै एसएलसीसम्म राम्रो श्रेणी ल्याउनेले ‘प्लान’ पढ्न पाउने धारणा मनमा बसालेको र त्यसैअनुसार भारतबाट इन्जिनियरिङ पढेर फर्किएको उल्लेख गरेका छन्। तर पछि उच्च शिक्षाका लागि विदेश जाँदा विकसित देशहरूमा विद्यार्थीको छनोट फरक ढङ्गले हुने बुझाइ बनेको उनको भनाइ छ।

डा. आचार्यका अनुसार विकसित मुलुकहरूमा मेधावी विद्यार्थीले कुन विषयभन्दा पनि कुन उत्कृष्ट विश्वविद्यालय भन्ने प्राथमिकताका साथ निर्णय गर्छन्।

कतिपय विश्वविद्यालयमा स्नातक तहका सुरुका वर्षमा विभिन्न विषयका आधारभूत कोर्स अनिवार्य रूपमा पढाइने र त्यसपछि विद्यार्थीले आफ्नै रुचि र क्षमता अनुसार मेजर विषय रोज्ने व्यवस्था रहेको उनले बताएका छन्।

उनले नेपालमा भने कानुन, अर्थशास्त्र, व्यवस्थापन जस्ता अत्यन्तै सान्दर्भिक विषयमा स्कुल तहमा राम्रो ग्रेड ल्याउने विद्यार्थी पर्याप्त मात्रामा आकर्षित हुन नसकेकोमा आश्चर्य व्यक्त गरेका छन्। विद्यार्थी मात्र होइन, अभिभावक र शिक्षकसमेत यी विषयको सम्भावना र स्कोपबारे पूर्ण रूपमा सूचित नभएको उनको टिप्पणी छ।

डा. आचार्यले विज्ञान–प्रविधि मात्र होइन, समाज विज्ञान, मानवीकी, कला र साहित्यलगायत सबै विधामा राम्रा विद्यार्थीका लागि उत्तिकै अवसर रहेको उल्लेख गर्दै यस विषयमा शिक्षा नीति र सार्वजनिक बहसमा गम्भीर छलफल हुन नसकेको बताए।