सामाजिक सञ्जालमा तथ्यहिन आरोप र गाली-बेइज्जती गरेको आरोपमा युवराज पौडेल पक्राउ


काठमाडाैँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमा तथ्यहिन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

महान्यायाधिवक्ताको कार्यालय तथा माननीय महान्यायाधिवक्ताज्यूको विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्दयुक्त तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको भन्दै युवराज सफल भन्ने युवराज पौडेललाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार युवराज पौडेलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताज्यूविरुद्ध विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने गरिएको भनी झूटा आरोप लगाउँदै भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको छ।

साथै उनले विभिन्न सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा पनि तथ्यहिन आरोप लगाएको पाइएको प्रहरीले जनाएको छ।

महान्यायाधिवक्ताको कार्यालयबाट गत माघ ८ गते प्राप्त पत्रसहितको भिडियो क्लिपहरू अनुसन्धान तथा विश्लेषण गर्दा उक्त सामग्रीहरू तथ्यमा आधारित नभएको पुष्टि भएपछि कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

सोही आधारमा पौडेललाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।