काठमाडौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा लुटपाट र आतङ्क फैलाइरहेका एक संगठित गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार बुधबारदेखि विशेष सर्च अपरेसन सञ्चालन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका व्यक्तिहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडकमा हिँड्ने सर्वसाधारणलाई लक्षित गरी लुटपाट गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गिरोहको नाइके विनय तामाङ रहेका छन् । तामाङ यसअघि पनि बुढानीलकण्ठ क्षेत्रमा चोरीको आरोपमा पक्राउ परेर महाराजगञ्ज प्रहरीको हिरासतमा थिए ।
भदौ २४ गते हिरासतबाट फरार भएका तामाङले त्यसपछि समूह गठन गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुटपाट सुरू गरेको अनुसन्धानबाट खुलेको एसएसपी थापाले जानकारी दिए ।
बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान करिब ३ बजेसम्म सञ्चालन गरिएको अपरेसनका क्रममा गिरोहका १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रममा दोहोरो झडप हुँदा एक प्रहरी र गिरोहका नाइके विनय तामाङ घाइते भएका छन् । घाइते प्रहरीको अस्पतालमा उपचार भइरहेको छ ।
अनुसन्धानअनुसार उक्त गिरोहले हालसम्म स्वयम्भू क्षेत्रमा ७ ओटा, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रमा ३–३ ओटा, बौद्ध र गौशला क्षेत्रमा ३–३ ओटा तथा ठिमी क्षेत्रमा १३ ओटा लुटपाटका घटना घटाएको खुलेको छ । ती घटनासम्बन्धी हालसम्म २७ ओटा जाहेरी परिसकेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा विनय तामाङसँगै आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन् । उनीहरूबाट प्रहरीले ३ वटा मोटरसाइकल, एउटा ट्याक्सी, सुनका गरगहना र नगद रकम बरामद गरेको छ ।
एसएसपी थापाका अनुसार पछिल्ला तीन महिनायता रातिको समयमा मोटरसाइकल प्रयोग गरी लुटपाट गर्ने घटनाहरू प्रहरीका लागि चुनौती बनेका थिए । गिरोह दिनभर ट्याक्सी वा अन्य सवारी साधन चलाउने, राति ९ बजेतिर भेला भएर खाना खाई राति १२ बजेपछि दुई वटा मोटरसाइकलमा ३–३ जना सवार भई लुटपाटमा निस्कने गरेको खुलेको छ ।
लुटपाटपछि पुनः जम्मा भएर ट्याक्सी वा निजी सवारी प्रयोग गरी भाग्ने गरेको पनि अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्ति यसअघि पनि चोरी तथा डाँकाका मुद्दामा संलग्न भइसकेका छन् ।
उनीहरूले विशेषगरी महिलाहरूको कानको गहना लुस्ने, एकान्त स्थानमा सर्वसाधारणलाई लुटेर मोटरसाइकलमा फरार हुने गरेका थिए । लुटपाटमा संलग्न व्यक्तिहरू काभ्रे, रामेछाप र सिन्धुली जिल्लाका भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्