उद्योग वाणिज्य महासङ्घ : एसोसिएट्स उपाध्यक्षमा पाण्डेलाई चुनौती गुरागाईं वा बस्नेत कि अरु कोही ?


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घकाे नयाँ नेतृत्व चयनको दिन नजिकिदै गर्दा भित्राभित्रै उम्मेदवारीको दाबी र वातावरण मिलाउनेक्रम सुरू भएको छ ।

चार उपाध्यक्षमध्ये एसोसिएट्स तर्फकाे उपाध्यक्षमा भित्राभित्रै बढी चर्चाको विषय छ । कार्पोरेट क्षेत्रको प्रतिनिधित्व हुने भएकाले एसोसिएटबाट उपाध्यक्ष को बन्ने भन्ने छलफल सुरु भएको छ ।

एसोसिएटमा प्रबलजङ्ग पाण्डे, शैलेन्द्र गुरागाईं र दशेबन्धु बस्नेत(अजिट) ‘फ्रन्ट’मा देखिएका छन् । पाण्डे एउटा समूहबाट चुनाव लड्ने लगभगपक्का भइसकेको छ । गुरागाईं र बस्नेतलाई अर्को समूहले अगाडि सार्ने तयारी गरिरहेको छ ।

पाण्डे भने निर्विरोध हुने दाउमा छन् । वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो समूह बनाएको अवस्थामा पाण्डे श्रेष्ठको समूहबाट एसोसिएटमा एकल दाबेदार जस्तै देखिन्छन् ।

अध्यक्ष चन्द्र ढकालले समूह बनाए गुरागाईं र बस्नेत यो समूहमा हुनेछन् । यद्यपी यसपटकको महासङ्घको चुनावमा मारवाडी समुदायको प्रतिनिधित्व कम देखिएपछि एसोसिएटमा गुरागाईं र बस्नेतसँगै अन्यको विकल्प पनि खोजी भइरहेको छ ।

मारवाडी समुदायको भोट तान्न अध्यक्ष ढकाल र वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवारीको तयारी गरेका नरेशलाल श्रेष्ठले उम्मेदवारको खोजी गरिरहेका छन् ।

पाण्डेसँगै अहिलेसम्म बस्तुगतको उपाध्यक्षमा शिव घिमिरेले पनि आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।

महासङ्घको सातौ संसोधित विधान अनुसार जिल्ला नगरबाट २, वस्तुगत तर्फबाट १, एसोसिएटस्बाट १, महिला १ उपाध्यक्ष रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष भने कार्यसमितिबाट चयन हुने व्यवस्था छ । आगामी चैतमा महासङ्घको नयाँ नेतृत्व चयन हुँदैछ ।