काठमाडाैँ । भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाल–भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताए ।
अमेरिका र चीनबीच राजनीतिक तथा रणनीतिक प्रतिष्पर्धा रहेपनि आर्थिक सम्बन्ध र व्यापारिक सहकार्य कायम रहेको उदाहरण दिँदै उनले भूराजनीतिक प्रतिष्पर्धाले आर्थिक सहकार्य रोक्न नसक्ने बताए ।
उनकाअनुसार अमेरिका र चीनबिच करिव ६०० अर्ब अमेरिकी डलरको व्यापार भइरहेको छ । भूराजनीतिले उनीहरूलाई एकअर्काबाट टाढा लैजान खोजे पनि अर्थतन्त्रले फेरि नजिक ल्याइरहेको उनले बताए ।
नेपाल भारतको सम्बन्ध जनस्तरको रहेको उल्लेख गर्दै यसलाई प्रभावित पार्न नहुने उनको भनाइ छ । नेपाललाई भारतले क्षेत्रीय सम्पर्क र सहकार्यको पुलका रूपमा विकास गर्न चाहेको उनले बताए ।
चीन काठमाडौँसम्म बढ्दो पहुँचप्रति भारतको आफ्नै चासो र चिन्ता रहेको पनि उनको भनाइ छ । यद्यपि यस्ता भूराजनीतिक चासोका कारण नेपाल–भारत सम्बन्धलाई सीमित गर्न नहुनेमा उनले जोड दिए ।
दुवै देशका नागरिकले राज्यकेन्द्रित दृष्टिकोणभन्दा माथि उठेर साझा क्षेत्रीय हित, आर्थिक सहकार्य र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
उनले दक्षिण एशियाका देशबिच राजनीतिक स्वार्थभन्दा माथि नागरिकबीचको विश्वास, संवाद र सहकार्य रहेको उल्लेख गरे । क्षेत्रीय सम्बन्धलाई नागरिक समाजको तहबाट थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
दक्षिण एशियाली मुलुकहरूले राज्यकेन्द्रित सोच र राष्ट्रवादी भाष्यबाट माथि उठेर नागरिकस्तरमा आपसी सम्बन्ध तथा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले उठाउने राजनीतिक तथा ऐतिहासिक मुद्दाहरूलाई नागरिकले अत्यधिक महत्व दिने प्रवृत्ति त्याग्नुपर्नेमा उनले जोड दिए । पुराना विवादलाई पुनः उठाएर छिमेकी मुलुकविरुद्ध जनमत निर्माण गर्ने प्रवृत्ति क्षेत्रीय सहकार्यका लागि बाधक रहेको उनको भनाइ छ ।
भारत, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका मुलुकमा सत्तारूढ राजनीतिक शक्तिहरूले समय–समयमा पुराना विवादलाई बाहिर ल्याएर जनमत प्रभावित पार्ने गरेको उनले बताए । यस्तो प्रवृत्तिले क्षेत्रीय सम्बन्धमा अविश्वास र दूरी बढाउने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्