काठमाडाैँ । रूसी सरकारले पत्रकारिता विकास तथा पत्रकारहरूको सुरक्षाका लागि २५० हजार अमेरिकी डलर (करिव ३ करोड ३५ लाख नेपाली रुपैयाँभन्दा बढी) सहयोग उपलब्ध गराउने भएको छ ।
यो रकम संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गतको अन्तर्राष्ट्रिय सञ्चार विकास कार्यक्रम (आईपीडीसी) मार्फत परिचालन हुनेछ ।
यो सहयोग मुख्य रूपमा अफ्रिकी देशहरू माली, मलावी, घाना, केन्या, सेनेगल र नेपालमा मिडिया सम्बन्धी परियोजनाहरू सञ्चालन गर्न प्रयोग गरिने बताइएको छ ।
परियोजनाहरू आगामी १८ महिनामा कार्यान्वयन हुने बताइएको छ । रूसी सहयोग विशेष गरी पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, अनलाइन हिंसा न्युनिकरण तथा मिडिया तथा सूचना साक्षरता विकासमा केन्द्रित हुनेछ ।
नेपालले माग गरेको पत्रकारिता नैतिकता तालिम परियोजना पनि यसै अन्तर्गत समावेश गरिएको छ । रूसको युनेस्कोस्थित स्थायी मिसनमार्फत उपलब्ध गराइएको यो स्वेच्छिक योगदान रूसी सरकारको आदेशअनुसार दिइएको हो ।
रूसका युनेस्को प्रतिनिधि रिनात अलाउत्दिनोभले रूसी मिडियासँग कुरा गर्दै ग्लोवल साउथका देशहरूसँग सहकार्य गर्दै पत्रकार सुरक्षादेखि मिडिया विकाससम्म सहयोग गर्न रूस तयार रहेको बताए ।
उनले आईपीडीसीमार्फत उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने, पत्रकारहरूको अधिकारको वकालत गर्ने, उनीहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्ने तथा मित्र राष्ट्रहरूलाई मिडिया विकासमा सहयोग गर्ने रूसको नीति रहेको उल्लेख गरे।
रूसले अफ्रिकी देशहरूसँग ऐतिहासिक सम्बन्ध र अफ्रिकाको बढ्दो वैश्विक महत्वलाई ध्यानमा राख्दै यो क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिएको छ । यो योगदानले अफ्रिका तथा नेपालजस्ता विकासशील देशहरूमा मिडियाको सुदृढीकरणमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्