काठमाडाैँ । आगामी आम निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरू आ–आफ्ना घोषणापत्र सार्वजनिक गर्ने तयारीमा जुटिरहेका बेला अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायातका विषयलाई प्राथमिकतामा राख्न प्रमुख राजनीतिक पार्टीहरूलाई सुझावपत्र पेश गरिएको छ ।
सडक दुर्घटनाबाट हुने मानवीय र आर्थिक क्षति न्यूनीकरण गर्दै सुरक्षित, व्यवस्थित र दिगो यातायात प्रणाली निर्माणका लागि ठोस नीतिगत प्रतिबद्धता आवश्यक रहेको औंल्याउँदै उक्त सुझावपत्र बुझाइएको हो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी–नेपाल तथा स्वतन्त्रता अभियान नेपालसँगको सहकार्यमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका प्रमुख राजनीतिक दललाई सुझावपत्र बुझाएको हो ।
यसका साथै उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जस्ता दलहरूमा पनि नेपाल तथा विदेशमा कार्यरत नेपाली विज्ञ र पेशागत समुदायको तर्फबाट सुझाव प्रस्तुत गरिएको छ ।
सुझावपत्रमा सडक सुरक्षा, सार्वजनिक यातायात, अटोमोबाइल क्षेत्र, श्रमिक सुरक्षा, जनस्वास्थ्य, उपभोक्ता अधिकार र मानव अधिकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरू समेटिएका छन् ।
विशेषगरी भयरहित यात्राको अधिकार, सुरक्षित र नियमित सार्वजनिक यातायात, दिगो सडक पूर्वाधार, युएनका सम्बन्धित महासन्धीहरूको कार्यान्वयन, लामो समयदेखि अड्किएका ऐन तथा नियमावली, रोड सेफ्टी ऐन, रोड सेफ्टी काउन्सिलको पुनर्संरचना तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट जारी गर्ने व्यवस्था जस्ता विषयलाई घोषणापत्रमा समावेश गर्न माग गरिएको छ ।
सुझावपत्रमा नेपालमा सडक दुर्घटनाका कारण प्रत्येक वर्ष हजारौँ नागरिकले अकालमै ज्यान गुमाइरहेको तथ्य उल्लेख गर्दै यसलाई केवल दुर्घटना नभई नागरिकको जीवन, स्वास्थ्य र संवैधानिक अधिकारमाथिको गम्भीर प्रश्नका रूपमा लिनुपर्ने धारणा राखिएको छ ।
सडक दुर्घटनाबाट ठूलो संख्यामा नागरिक घाइते र अपांग हुने गरेको, यसले देशको अर्थतन्त्रमा समेत गहिरो असर पारिरहेको र विश्व बैंकका अनुसार वार्षिक करिब तीन प्रतिशत बराबरको आर्थिक क्षति भइरहेको तथ्य पनि उल्लेख गरिएको छ ।
यस सन्दर्भमा सुरक्षित सडक पूर्वाधार निर्माण, सार्वजनिक यातायातलाई भरपर्दो र आधुनिक बनाउने नीति, सवारी साधनको गुणस्तर र प्रदूषण मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था, सवारी चालक अनुमतिपत्र प्रणाली सुधार, ट्राफिक व्यवस्थापन सुदृढीकरण तथा दुर्घटनापछिको उद्धार, उपचार र पुनस्र्थापनामा राज्यको प्रत्यक्ष जिम्मेवारी सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
सुझावपत्र बुझ्दै नेपाली कांग्रेसका प्रवक्ता देव राज चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डि।पी। अर्याल, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) लगायतका नेताहरूले सुरक्षित यातायात र दिगो सडकसम्बन्धी विषय आधुनिक र समृद्ध नेपाल निर्माणसँग प्रत्यक्ष जोडिएको भन्दै आ–आफ्नो पार्टीको घोषणापत्रमा यस्ता विषय समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका अनुसार विभिन्न क्षेत्रका विज्ञ, पीडित परिवार, अभियन्ता, सञ्चारकर्मी र संघसंस्थाको संयुक्त प्रयासमा तयार गरिएको यो सुझावपत्र घोषणापत्र र नीति कार्यक्रममा समावेश भई कार्यान्वयनमा जान सके सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण हुनुका साथै जनविश्वास अभिवृद्धि हुने विश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्