काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाका विभिन्न खाद्य व्यवसायमा निरीक्षण अनुगमन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार निर्देशन जारी गरेको छ।
विभागले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा सञ्चालन गरेको मोबाइल खाद्य प्रयोगशाला भ्यान मार्फत प्रान्जु तेल मिल, भोजपुरे बेकरी एण्ड क्याफे, पवित्र दुग्ध भण्डार लगायतका व्यवसायमा निरीक्षण गरेको थियो।
निरीक्षण क्रममा यी व्यवसायहरूमा खाद्यान्न अव्यवस्थित भण्डारण, पेष्ट कन्ट्राेलको कमी, तेलमा मिलावट गर्ने प्रवृत्ति, लेबल विवरणको अभाव, खुला दुध बिक्री वितरण र फ्रिज तथा किचनको अपर्याप्त सरसफाइ जस्ता समस्या भेटिएका छन्।
विभागले यी व्यवसायहरूलाई खाद्य स्वच्छता कायम राख्न, पेष्ट कन्ट्राेलको व्यवस्था मिलाउन, उत्पादन र उपभोग्य मिति सहित सही लेबल लगाएर भण्डारण र बिक्री वितरण गर्न र कुनै पनि बाह्य वा हानिकारक पदार्थ मिसावट नगर्न निर्देशन दिएको छ।
त्यसैगरी, काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा जमलस्थित अरोमा क्याफे प्रा.लि., एस के मःम सेन्टर, स्वादिष्ट मःम एण्ड फास्ट फुड हाउसमा पनि निरीक्षण गरिएको थियो। यहाँ किचन अव्यवस्थित, फोहोर व्यवस्थापन अभाव, म्याद गुज्रिएका सिन्थेटिक फुड कलर प्रयोग, खाद्य पदार्थ नछोपेर भण्डारण, पेष्ट कन्ट्राेलको कमी जस्ता कमजोरी देखिएका थिए।
विभागले आवश्यक सुधारका निर्देशनसँगै म्याद गुज्रिएका खाद्य पदार्थ नष्ट गर्न र रंग प्रयोगमा सरकारको मापदण्ड पालना गर्न निर्देशन दिएकाे छ ।
विभागका अनुसार निरीक्षणको उद्देश्य उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खाद्य पदार्थ उपलब्ध गराउनु रहेको छ।


प्रतिक्रिया दिनुहोस्