नवलपरासीमा सार्वजनिक जग्गा हिनामिना, दुई जनाविरुद्ध अख्तियारले मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा दुई जनाविरुद्ध आरोप-पत्र दायर गरेको छ।

सरावल गाउँपालिका वडा नम्बर ३ स्थित महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट सम्झौता विपरीत अस्वभाविक रूपमा बढी माटो उत्खनन र निकासी गरी भ्रष्टाचार गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध कारबाही अघि बढाइएको हो।

आरोपमा उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो रू. १० लाख ०८ हजार ७०३ कायम गरी जरिवाना र कैद सजाय तोक्न माग गरिएको छ। अख्तियारले बिगो असुलको प्रावधान समेत लागू गरी कारबाही अघि बढाएको जनाएको छ।