काठमाडाैँ । नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले देखाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ अनुसार नेपालको अङ्क गत वर्षकै जस्तै ३४ मै सीमित रहेको छ।
टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माका अनुसार सन् २०२५ को अगस्टसम्म उपलब्ध सुशासनसम्बन्धी तथ्याङ्कका आधारमा छ वटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको स्कोर निर्धारण गरेका हुन्।
उनका अनुसार नेपालले लामो समयदेखि ३५ भन्दा कम अङ्क मात्रै प्राप्त गर्दै आएको छ, जसले भ्रष्टाचार नियन्त्रणमा निरन्तर असफलता देखाउँछ। सूचकाङ्कमा १०० अङ्कले भ्रष्टाचाररहित अवस्था र शून्य अङ्कले अत्यधिक भ्रष्ट अवस्था जनाउँछ।
अध्यक्ष शर्माले नेपालको अङ्क यथावत रहनुले सत्तामा रहेका नेतृत्वले भ्रष्टाचारविरुद्ध प्रभावकारी काम गर्न नसकेको स्पष्ट सन्देश दिएको बताए । भदौ २३ र २४ मा देखिएको जेनजी आन्दोलन र त्यसक्रममा मुलुकले व्यहोरेको अपूरणीय धनजनको क्षतिको मूल कारणमध्ये बढ्दो भ्रष्टाचार रहेको दाबीलाई पनि यस सूचकाङ्कले थप पुष्टि गरेको उनको भनाइ छ।
उनका अनुसार सन् २०२५ मा भ्रष्टाचारग्रस्त देशहरूमा जेन–जी पुस्ताको नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शनहरू भएका छन्। नेपाल, मडागास्कर, फिलिपिन्स र इण्डोनेशिया लगायतका देशमा युवाहरूले नेतृत्व तहको शक्ति दुरुपयोग, सुलभ सार्वजनिक सेवा, रोजगारी र आर्थिक अवसरबाट वञ्चित हुनुपरेको भन्दै सडक आन्दोलन गरेका हुन्। यसले राजनीतिक भ्रष्टाचारविरुद्ध युवापुस्ताको स्पष्ट असन्तोष र परिवर्तनको चाहना देखाएको उनले बताए ।
अध्यक्ष शर्माले राजनीतिको लागि भ्रष्टाचार अपरिहार्य होइन भन्ने धारणा नेतृत्व तहले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। आसन्न निर्वाचनमार्फत भ्रष्टाचारमा नमुछिएका, स्वच्छ, इमान्दार र प्रतिवद्ध नेतृत्व चयन हुन सके मात्र दशकौँदेखि जकडिएको भ्रष्टाचार नियन्त्रणमा ठोस सुधार सम्भव हुने उनको भनाइ छ।
सूचकाङ्कअनुसार सन् २०२५ मा विश्वका दुई तिहाइभन्दा बढी देशले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन्, जसले विश्वव्यापी रूपमा भ्रष्टाचार नियन्त्रण कमजोर रहेको संकेत गर्छ। सर्वेक्षणमा समेटिएका १८२ देशमध्ये अधिकांशको अवस्था अघिल्लो वर्षको तुलनामा खस्किएको छ। यस वर्ष विश्वको औसत स्कोर ४२ कायम भएको छ, जुन अघिल्लो वर्षभन्दा एक अङ्क कम हो।
डेनमार्क ८९ अङ्कसहित सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा शीर्ष स्थानमा रहेको छ भने दक्षिण सुडान र सोमालिया ९–९ अङ्कसहित सबैभन्दा बढी भ्रष्टाचार हुने देशका रूपमा सूचीकृत भएका छन्।
दक्षिण एशियामा भूटानले ७१ अङ्क प्राप्त गर्दै तुलनात्मक रूपमा राम्रो अवस्था देखाएको छ। भारत र माल्दिभ्सले ३९, श्रीलङ्काले ३५, पाकिस्तानले २८, बंगलादेशले २४ र अफगानिस्तानले १६ अङ्क प्राप्त गरेका छन्। छिमेकी चीनको अङ्क ४३ रहेको छ।
भूटान बाहेक अधिकांश दक्षिण एशियाली देशमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा कायम रहेको टीआईको निष्कर्ष छ। प्रतिवेदनले स्थापित प्रजातान्त्रिक देशहरूमा समेत नेतृत्व क्षयका कारण भ्रष्टाचार बढ्दै गएको, लोकतन्त्र कमजोर बनेको र नागरिक स्वतन्त्रता साँघुरिँदै गएको अवस्था देखिएको जनाएको छ।
टीआईले राजनीतिक नेतृत्वलाई भ्रष्टाचार नियन्त्रणप्रति दृढ प्रतिवद्धता जनाउन, कानूनको पूर्ण कार्यान्वयन गर्न, नियमनकारी निकाय सुदृढ बनाउन र अन्तरदेशीय पुँजी पलायन रोक्न कानूनी छिद्र बन्द गर्न आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस्