काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले अनुदानित रासायनिक मल आपूर्तिलाई प्राथमिकतामा राख्दै ६ लाख मेट्रिक टन वार्षिक लक्ष्य निर्धारण गरेको छ। यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २०८२ साउन १ गतेदेखि माघ २६ गतेसम्म कुल ४ लाख ६६ हजार मेट्रिक टन मलका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ। गत आर्थिक वर्षबाट मार्गस्थ रहेको परिमाण समेत समेट्दा हालसम्म ४ लाख ४५ हजार ३४६.५५ मेट्रिक टन रासायनिक मल आपूर्ति भएको छ।
आपूर्ति विवरणअनुसार कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ३ लाख २१ हजार १२८.३ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमार्फत १ लाख २४ हजार २१८.३ मेट्रिक टन मल भित्रिएको छ।
मलको प्रकारअनुसार हेर्दा युरिया सबैभन्दा बढी आयात भएको छ। कृषि सामग्री कम्पनीले २ लाख ३ हजार ४९२.३५ मेट्रिक टन र साल्ट ट्रेडिङ्गले ५९ हजार १६५.३५ मेट्रिक टन युरिया आयात गरेका छन्। यसरी कुल २ लाख ६२ हजार ६५७.७ मेट्रिक टन युरिया आपूर्ति भएको छ।
डीएपीतर्फ कृषि सामग्री कम्पनीमार्फत १ लाख १३ हजार ८१०.९५ मेट्रिक टन र साल्ट ट्रेडिङ्गमार्फत ५७ हजार ३२७.८ मेट्रिक टन आयात भई कुल १ लाख ७१ हजार १३८.७५ मेट्रिक टन आपूर्ति भएको छ।
पोटासतर्फ कृषि सामग्री कम्पनीले ३ हजार ८२५ मेट्रिक टन र साल्ट ट्रेडिङ्गले ७ हजार ७२५.१ मेट्रिक टन आयात गर्दा कुल ११ हजार ५५०.१ मेट्रिक टन पोटास भित्रिएको छ।
हाल गोदाम मौज्दात अवस्था हेर्दा दुवै कम्पनीसँग गरी १ लाख १४ हजार ९२५.१५ मेट्रिक टन मल स्टकमा रहेको छ। यसमध्ये कृषि सामग्री कम्पनीसँग ८३ हजार ६९९.५ मेट्रिक टन र साल्ट ट्रेडिङ्गसँग ३१ हजार २२५.६५ मेट्रिक टन मौज्दात छ।
मलको प्रकारअनुसार गोदाममा ७१ हजार ५२०.१ मेट्रिक टन युरिया, ३५ हजार ५१२.९५ मेट्रिक टन डीएपी र ७ हजार ८९२.१ मेट्रिक टन पोटास रहेको छ।
विक्रीतर्फ भने गत आर्थिक वर्ष २०८१/८२ को बाँकी मौज्दात समेत जोड्दा हालसम्म कुल ३ लाख ७६ हजार ९१.७५ मेट्रिक टन मल विक्री भएको छ। कृषि सामग्री कम्पनीले २ लाख ७५ हजार १२५ मेट्रिक टन र साल्ट ट्रेडिङ्गले १ लाख ९६६.८ मेट्रिक टन मल बिक्री गरेका छन्।
विक्री विवरणअनुसार युरिया २ लाख १६ हजार ७६१.९ मेट्रिक टन, डीएपी १ लाख ४८ हजार ७३६.६५ मेट्रिक टन र पोटास १० हजार ५९३.२ मेट्रिक टन बिक्री भएको छ।
त्यस्तै, आन्तरिक तथा बाह्य मार्गस्थ अवस्थामा हाल ५९ हजार ५८९ दशमलव ७५ मेट्रिक टन मल रहेको मन्त्रालयले जनाएको छ। यसमध्ये ३७ हजार ५८८.१० मेट्रिक टन युरिया, ८ हजार २६.६५ मेट्रिक टन डीएपी र १३ हजार ९७५ मेट्रिक टन पोटास मार्गमा रहेको छ।
सरकारले निर्धारण गरेको ६ लाख मेट्रिक टनको वार्षिक लक्ष्य हासिल गर्न बाँकी अवधिमा थप आपूर्ति र प्रभावकारी वितरण व्यवस्थापन आवश्यक देखिएको छ।


प्रतिक्रिया दिनुहोस्