काठमाडौँ । सरकारले कृषि क्षेत्रमा प्रयोग हुने जीवनाशक विषादीहरूको प्रयोगलाई व्यवस्थित बनाउन नयाँ नामावली सार्वजनिक गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशित गरेको यस आधिकारिक दस्तावेजले मुलुकमा दर्ता भएका विषादीहरूको विस्तृत सूची प्रस्तुत गरेको छ।
राजपत्रमा प्रकाशित नामावलीले खेतीपातीमा प्रयोग हुने कीटनाशक, ढुसीनाशक, झारपातनाशक, सुलसुलेनाशक, मुसानाशक, जुकानाशक, शङ्खेकीरानाशक, शाकाणुनाशक, र जैविक तथा वनस्पतिजन्य विषादी जस्ता विभिन्न वर्गका रासायनिक पदार्थहरू समावेश गरेको छ। प्रत्येक विषादीको व्यापारिक नाम, प्राविधिक नाम र डब्लुएचओ वर्गीकरण अनुसार जोखिम स्तर (अत्यधिक, मध्यम, न्यून) पनि उल्लेख गरिएको छ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले विषादी जीवनाशक ऐन २०७६ बमोजिम प्रमाणित गरेका रासायनिक सामग्रीहरूलाई समेटेर तयार गरिएको यस नामावलीले किसान र सरोकारवालाहरूलाई सुरक्षित र अनुमति प्राप्त विषादीहरूको मात्र प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्य राख्दछ।
यस नयाँ नामावली प्रकाशनसँगै २०७६ मंसीर १६ गते प्रकाशित पुरानो नामावली खारेज गरिएको छ।


प्रतिक्रिया दिनुहोस्