निर्वाचन स्वच्छ र विश्वासिलो बनाउन मिडियाको भूमिका निर्णायक हुन्छ : सचिव राउत


काठमाडाैँ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी आवधिक निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासिलो बनाउन सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताएका छन् ।

आयोगद्वारा आयोजित छलफल कार्यक्रममा सचिव राउतले आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गरी मतदानको सही सदुपयोग गर्न मिडियाकर्मीहरूलाई आग्रह गरेका हुन् ।

उनले सञ्चार माध्यमलाई लोकतन्त्रको ‘कर्नर स्टोन’ र राज्यको चौथो अंगको रूपमा उल्लेख गर्दै, निर्वाचनका बेला हुने बहस र डिस्कोर्समा मिडियाको प्रभाव महत्वपूर्ण हुने बताए ।

सचिव राउतले मिडियाले प्रवाह गर्ने निष्पक्ष सूचना नै निर्वाचनको विश्वसनीयता कायम गर्न र मतदातालाई सक्षम बनाउन सहयोगी हुनेमा जोड दिए ।उनले नेपालको संवैधानिक र कानुनी व्यवस्था अनुसार हुने यस आवधिक निर्वाचनमार्फत सङ्घीय संसदको प्रतिनिधि सभाका लागि १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी कूल २७५ जनप्रतिनिधि चयन हुने जानकारी दिए।

उनले भने, “स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वासिलो निर्वाचन सम्पन्न गर्न मिडियाको भूमिका महत्वपूर्ण छ। आम सञ्चार माध्यमहरूले नागरिकलाई सही, तथ्यपरक, निष्पक्ष र तटस्थ सूचना प्रवाह गरे मात्र वास्तविक रूपमा स्वच्छ र विश्वासिलो निर्वाचन सम्भव छ। यसले मतदातालाई आफ्नो मतको सही सदुपयोग गर्न सक्षम बनाउँछ।”

निर्वाचनले शासन प्रणालीलाई वैधता प्रदान गर्ने भएकाले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सही प्रतिनिधि चयन अनिवार्य रहेको सचिव राउतले जोड दिए। आगामी दुई–तीन हप्ताभित्र हुने तयारीको समयमा मिडियाबाट व्यापक सहयोगको अपेक्षा राखिएको उनले स्पष्ट पारे ।