सूचनाको असमान पहुँचले बजार असन्तुलन बढायो, सही सूचना प्रवाह आवश्यक छः अर्थमन्त्री खनाल


काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रको सही सञ्चालनका लागि समयमै र सही सूचना उपलब्ध गराउनु अत्यावश्यक भएको बताएका छन्।

शुक्रवार राजधानीमा मिडियामा सूचनाको हकसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उनले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन उत्पन्न भएको बताएका हुन् ।

मन्त्री खनालले सूचनाको हकसम्बन्धी कानून मात्र नभई अन्य मापदण्ड र कानूनले पनि सूचना प्रवाहको व्यवस्था गरेको बताए। तर व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धामा असर परेको उनको भनाइ थियो।

उनले पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामा एकाधिकार कायम गरिरहेको उदाहरणसमेत उल्लेख गरे। खनालका अनुसार धातु बजारमा सुन–चाँदीको मूल्यबारे रियल टाइममा सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो भिन्नता आउँछ।

उनले भने, “अर्थतन्त्र सही तरिकाले चल्नका लागि सही सूचना प्रवाह आवश्यक छ। पुँजीबजारमा इन्साइडर ट्रेडिङका कारण कतिपय व्यक्तिले सूचनाको एकाधिकार पाएका छन्। सबै लगानीकर्ताले समान निर्णय गर्न समान समयमा सूचना पाउन सकेका छैनन्। कतिपयले १० दिनपछि सूचना पाउँछन् भने कतिपयले तत्काल प्राप्त गर्छन्, जसले अवसर र लाभमा ठूलो भिन्नता ल्याउँछ।”

अर्थमन्त्री खनालले नेपालका लेखा मापदण्डले ठूला कम्पनी र अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको भए पनि पत्रकारहरूले यसबारे गम्भीर अनुगमन नगरेको पनि बताएका छन्।

उनका अनुसार समान अवसरको व्यवस्था विश्वभर प्रचलित भए पनि नेपालमा कम्पनीहरूले दलित, जनजाति र पिछडिएका वर्गलाई दिएको रोजगारीबारे विवरण सहज रूपमा प्राप्त हुने अवस्था छैन। खनालले नागरिकसम्म सही सूचना पुर्‍याउन अझै ठूलो सम्भावना बाँकी रहेको पनि उल्लेख गरे ।