काठमाडौँ। आज हिन्दु धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्री देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । विशेषगरी पशुपतिनाथ मन्दिर क्षेत्रमा लाखौं भक्तजनको उपस्थितिको अपेक्षा गरिएको छ। बढ्दो भीडलाई व्यवस्थित र सुरक्षित बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको जनाएको छ।
महाशिवरात्री २०८२ का अवसरमा पशुपति क्षेत्रमा पूजाआजा तथा दर्शनका लागि आउने भक्तजनको सहज आवतजावत सुनिश्चित गर्न ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइएको ट्राफिक प्रहरीको भनाइ छ। विभिन्न स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ।
सिफल चौरमा दर्शनार्थीका सवारी साधन, पासवाहक तथा सुरक्षाकर्मीका सवारी राखिनेछ। गुहेश्वरी पारी तीर्थयात्री र भक्तजनका सवारी पार्किङ गरिने व्यवस्था गरिएको छ। पशुपति विकास कोषको कार्यालय तथा भण्डारखाल क्षेत्रमा पासवाहक सवारी साधन राखिनेछ भने तिलगंगा आँखा अस्पताल आसपास र करिडोर क्षेत्रमा तीर्थयात्री, पर्यटक तथा दर्शनार्थीका सवारी पार्किङ गरिनेछ।
वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारीका लागि छुट्टै व्यवस्था मिलाइएको छ। त्यस्तै, प्रहरी वृत्त गौशालामा पासवाहक तथा सरकारी सवारी साधन पार्किङ गरिने जनाइएको छ।
विभिन्न नाकाबाट भित्रिने सवारी साधनलाई छुट्टाछुट्टै स्थानमा व्यवस्थापन गरिनेछ। टाढाबाट आउने भक्तजनलाई सहज आवतजावतको सुविधा दिन विशेष ध्यान दिइएको ट्राफिक प्रहरीले जनाएको छ।
दर्शनार्थीको अत्यधिक चापका कारण गौशाला क्षेत्र हुँदै चक्रपथमा सवारी सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै सो क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ। त्यसका लागि करिडोर तथा भित्री सडकमा समेत बाक्लो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिनेछ।
सामान्य अवस्थामा चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी सञ्चालन यथावत रहनेछ। तर भीड अत्यधिक बढेमा आवश्यकतानुसार डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिनेछ।
तिनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ तथा पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालवाहक सवारी साधनलाई आवश्यकताअनुसार निषेध गरिने जनाइएको छ। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीलाई गुहेश्वरी पारी पार्किङ गर्न निर्देशन दिइएको छ।
गौशाला चोकमा अत्यधिक भीड भई सवारी सञ्चालन असम्भव भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर–मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ तथा सिफल चौरबाट जय बागेश्वरीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गराई सञ्चालन गरिनेछ।


प्रतिक्रिया दिनुहोस्