फागुन ४ देखि १८ गतेसम्म मात्र चुनावी प्रचार गर्न पाइने, आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन


काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म चुनावी प्रचार–प्रसार गर्न पाउने गरी समयसीमा निर्धारण गरेको छ। आयोगले तोकिएको कार्यतालिका अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूलाई उक्त अवधिमा मात्रै प्रचार गतिविधि सञ्चालन गर्न निर्देशन दिएको हो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार २०८२ फागुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि प्रचार अवधि सुरु भई फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै दल, उम्मेदवार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०८२ अनुसार जुलुस, आमसभा, कोणसभा, बैठक, भेला तथा अन्य प्रचार–प्रसार गतिविधि मतदान हुने दिनभन्दा १५ दिनअघि मात्रै गर्न पाइने व्यवस्था रहेको स्पष्ट पारेको छ। सोही प्रावधानअनुसार तोकिएको समयभित्र मात्र प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न पाइने जनाइएको छ।

सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै आचारसंहिता उल्लंघन नगर्न चेतावनी दिएको छ। आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिएको उल्लेख गर्दै आयोगले उल्लंघनका घटना घटे कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिता राजनीतिक दल तथा सरोकारवालासँग व्यापक परामर्श गरी तयार गरिएको दस्तावेज भएकाले यसको पूर्ण पालना हुने विश्वास व्यक्त गरेको छ।