काठमाडाैँ। प्रविधिको तीव्र विकाससँगै सार्वजनिक सेवा तथा यातायात व्यवस्थापन क्षेत्रमा डिजिटल प्रणालीको प्रयोग विस्तार हुँदै गएको छ। यसै क्रममा रूपन्देहीको ओमसतिया गाउँपालिका–२ मा डिजिटल लोडबोर्ड कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।
लोडबोर्ड भनेको ढुवानी क्षेत्रमा ट्रकको पालो, गन्तव्य, भाडादर र माल ढुवानीसम्बन्धी विवरण व्यवस्थापन गर्ने प्रणाली हो। विगतमा कागजी प्रक्रिया र म्यानुअल दर्तामार्फत सञ्चालन हुने यो व्यवस्था ढिलासुस्ती, असमझदारी तथा पारदर्शिताको अभावका कारण आलोचित हुने गरेको थियो।
डिजिटल प्रणाली लागू भएसँगै अब ट्रक दर्ता, पालो व्यवस्थापन तथा ढुवानी विवरण कम्प्युटर प्रणालीमार्फत सञ्चालन हुने भएको छ। डिजिटल डिस्प्ले बोर्ड र सफ्टवेयरमार्फत सूचना तत्काल अद्यावधिक हुने भएकाले व्यवसायी र चालकले सहज रूपमा जानकारी पाउने व्यवस्था मिलाइएको छ।
उक्त कार्यालयको उद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउँदै पारदर्शिता र अनुशासन कायम गर्ने उद्देश्यले डिजिटल लोडबोर्ड प्रणाली विस्तार गरिएको बताए।
उनले ढुवानी व्यवस्थापनलाई व्यवस्थित गर्न देशभर लोडबोर्ड अवधारणा अघि बढाइएको जानकारी पनि दिए। अध्यक्ष बाँनियाले ढुवानी व्यवसायीहरूलाई प्रविधि मैत्री बन्न र डिजिटल लोडबोर्ड जस्ता सफ्टवेयरमा आबद्ध हुन आग्रह गरे। उनका अनुसार यसले ढुवानी व्यवस्थापनमा पारदर्शिता, अनुशासन र सहजता ल्याउनेछ।
सो अवसरमा ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधव नेपाल पनि उपस्थित थिए। उनले पनि डिजिटल प्रणाली अपनाउन व्यवसायीहरूलाई समर्थन र प्रोत्साहन व्यक्त गरे।
कार्यक्रममा लोडबोर्डका अध्यक्ष श्रीमान कार्कीले डिजिटल प्रणालीले सूचना सम्प्रेषणलाई सहज, छरितो र पारदर्शी बनाएको बताए। उनका अनुसार यसबाट सेवाग्राही र सेवा प्रदायकबिचको समन्वय सुदृढ हुने तथा अनियमितता नियन्त्रणमा सहयोग पुग्नेछ।
त्यसैगरी लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रुमाखर गौतमले यातायात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि डिजिटल लोडबोर्ड प्रभावकारी माध्यम बन्ने बताए। एकै स्थानबाट सहज रूपमा ढुवानी व्यवस्थापन गर्न सकिने भएपछि व्यवसाय सञ्चालनमा पारदर्शिता र विश्वसनीयता बढ्ने उनको भनाइ थियो।
महासंघले काटा (वेट ब्रिज), ट्रक तथा सम्बन्धित संस्थालाई क्रमशः डिजिटल नेटवर्कमा आबद्ध गर्दै ढुवानी प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमा आधारित बनाउने लक्ष्य लिएको जनाएको छ। यस प्रणालीमार्फत ट्रकले कति भार बोकेको छ, कुन स्थानमा कहिले इन्ट्री गरेको छ भन्ने विवरण वास्तविक समयमै निगरानी गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ।
प्रविधिको प्रयोगसँगै लोडबोर्ड प्रणाली सुचारु र व्यवस्थित बन्दै जाँदा यातायात क्षेत्रमा सूचना प्रवाह र व्यवस्थापनको परम्परागत शैलीमा महत्वपूर्ण परिवर्तन देखिएको छ। आगामी दिनमा अझ उन्नत प्रविधिको प्रयोग भएसँगै ढुवानी क्षेत्र थप पारदर्शी र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्