एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र,समृद्धि र विकासमा जोड (पूर्णपाठ)


काठमाडाैँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रको मुख्य नारा ‘एमालेले बनाउँछ! समृद्ध देश, साझा गन्तव्यः सुखी जनता, सुदृढ भविष्य!’ राखिएको छ।

घोषणापत्र अनुसार युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी निःशुल्क इन्टरनेट डाटा र स्टार्टअप तथा सूचना प्रविधिमा लाग्न चाहनेका लागि १० हजार डलर बराबरको डलर कार्ड उपलब्ध गराउने योजना छ।

साथै मजदुर र कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुऱ्याइने, प्राविधिक उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई २० लाख रुपैयाँसम्मको निर्ब्याजी ऋण र इन्टर्नसिप सहितको पारिश्रमिक दिने, महिला तथा बालबालिकाका लागि विभिन्न सहुलियत र पोषण तथा जीवन बीमा सुविधा दिने योजनाहरू राखिएका छन्।

गरीब परिवारको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वार्षिक बोनस दिने व्यवस्था पनि गरिएको छ। स्वास्थ्य स्वयंसेविकालाई वार्षिक २० हजार भत्ता र शिक्षकहरूको मर्यादाक्रम निर्धारण गर्ने योजना पनि घोषणापत्रमा समावेश छ।

आगामी ५–१० वर्षमा अर्थतन्त्रलाई ठूलो फड्को मार्ने लक्ष्यसहित २५ वटा समृद्धिका स्तम्भ तय गरिएको छ। योजना अनुसार, ५ वर्षभित्र अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पुग्नेछ।

प्रतिव्यक्ति आय ५ वर्षभित्र ३ हजार डलर पुऱ्याउने, सडक निर्माण कम्तिमा डबल लेन बनाउने, ७७ जिल्लामा फाेजी सेवा विस्तार गर्ने र डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। ऊर्जा र पर्यटन क्षेत्रमा पनि ५ वर्षमा उत्पादन र आगमन संख्या दोब्बर गर्ने लक्ष्य समावेश छ।

साथै गत भदौमा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त सार्वजनिक भवनहरू, जस्तै सिंहदरबार र सर्वोच्च अदालत, एक वर्षभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश गरिएको छ।