काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् ।
बिहीबार पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए । तर समयानुकुल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नु पर्ने उनको भनाइ छ ।
“०४६ सालपछि ०५१ साल सम्मको कांग्रेसले चलाएको सरकारकैबेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो”, उनले भने, “कांग्रेसले त्यसैको कारण लामो समयसम्म कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनु पर्यो । हामी निरन्तर लखेटियौँ । हाम्रा सार्वजनिक नीतिहरूका बारेमा नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो । तर आज पनि नेपालमा जेजति कुरा आएका छन् त्यको कथा खोज्दै गयो भने २०५९ साल सुरु गरेकै योजनाहरूको जगमा आएका छन् ।”
पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उनले स्मरण गरे । “जननायक बीपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली म जस्तै मध्यमवर्गीय स्तरको हुनु पर्छ भनेर सपना देख्नुभयो,”सभापति थापाले भने, “आज हामी हिजो गरेका उपलब्धिप्रति गौरब गर्छौँ । हाम्रा ऐतिहासिक मूल्य मान्यतालाई अझै उज्याले बनाउछौँ ।”
०३३ सालको त्यो अप्ठ्यारो दिनमा हातमा ७ वटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उनको भनाइ छ । सभापति थापाले भने,”हाम्रा आफ्ना संघर्षका दिनहरू सम्झन्छौँ । तीस वर्षको पञ्चायती कालरात्रिमा एक पटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन ती दिनहरू सम्झदै हामी अघि बढ्ने छौँ ।”
मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उनको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्