काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको वाचापत्रमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।
पार्टीले ती दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न विभिन्न शुल्कमा दिइने छुटलाई अझ प्रभावकारी बनाउने, लक्षित अन्तर्राष्ट्रिय बजारमा सक्रिय बजारीकरण गर्ने र भारतसँग प्रवेश–निगर्मन बिन्दु तथा आइएलएस सञ्चालनसम्बन्धी कूटनीतिक पहल तीव्र बनाउने उल्लेख गरेको छ।
वाचापत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नीतिगत र कूटनीतिक दुवै तहमा पहल गरिने जनाइएको छ।
यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को क्षमता विस्तारका लागि नौ वर्षअघि तयार पारिएको नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको डिजाइनलाई शीघ्र परिमार्जन गरी निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सन्दर्भमा भने दीर्घकालीन बजारको माग र विश्वव्यापी उड्डयन क्षेत्रमा देखिएको परिवर्तनशील प्रवृत्तिको विस्तृत अध्ययनपछि मात्रै निर्णय लिइने उल्लेख छ। सो अध्ययनका आधारमा निजगढ वा अन्य वैकल्पिक स्थानमा विमानस्थल निर्माण गरिने वाचापत्रमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्