काठमाडौँकाे यटखा बहालमा फायर हाइड्रेन्ट पाइपलाइन उद्घाटन, आगलागी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १९ अन्तर्गत यटखा बहाल क्षेत्रमा स्थापना गरिएको फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको शुक्रबार उद्घाटन गरिएको छ। वडा अध्यक्ष राजेश श्रेष्ठले एक कार्यक्रमबिच सो पूर्वाधारको औपचारिक शुभारम्भ गरेका हुन् ।

उद्घाटन कार्यक्रममा महानगरपालिकाका सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमपछि जडान गरिएको पाइपलाइनको व्यावहारिक परीक्षणसमेत गरिएको थियो। परीक्षणका क्रममा पानीको प्रवाह र दबाब सन्तोषजनक देखिएको जनाइएको छ।

नवनिर्मित फायर हाइड्रेन्टले यटखा बहाल तथा आसपासका बस्तीहरूमा आगलागीको घटना हुँदा दमकल तथा स्थानीयवासीलाई तत्काल पानी उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसले आगलागी नियन्त्रण तथा क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा आगलागीका घटना बढ्दै गएको सन्दर्भमा महानगरपालिका तथा वडा कार्यालयहरूले यस्ता सुरक्षा पूर्वाधारलाई प्राथमिकतामा राख्दै आएका छन्।

वडा अध्यक्ष श्रेष्ठले यस संरचनाले स्थानीय बासिन्दाको सुरक्षा सुदृढ बनाउने उल्लेख गर्दै महानगरपालिकासँग सहकार्य गरी अन्य क्षेत्रमा पनि यस्ता फायर हाइड्रेन्ट विस्तार गरिने जानकारी दिए ।

गगनचुम्बी भवन र साँघुरा गल्लीहरू रहेको पुरानो बस्तीका कारण आपतकालीन अवस्थामा पानीको पहुँच चुनौतीपूर्ण हुने गरेको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यटखा बहाल क्षेत्रमा आधुनिक सुरक्षा पूर्वाधार थपिनुले स्थानीयवासीमा राहत र आत्मविश्वास थपिएको छ।