धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्ने


काठमाडौँ । ऐतिहासिक सम्पदा धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने तयारी गरिएको छ। शुक्रबार संघीय सरकार र काठमाडौँ महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण, सञ्चालन र व्यवस्थापन प्रक्रियाबारे अध्ययन गर्न तत्काल एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार धरहराको व्यवस्थापन महानगरलाई दिने विषयमा आवश्यक अध्ययन गरी ठोस निष्कर्षमा पुग्न समिति गठन गर्ने सहमति भएको छ। उनले हाल धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनै असर नपर्ने गरी अध्ययन गरिने र त्यसअनुसार अघि बढ्ने स्पष्ट पारिन्।

छलफलले धरहराको बेसमेन्ट पार्किङ व्यवस्थापन समेत काठमाडौं महानगरपालिकालाई दिने विषयमा अध्ययन गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले न्युरोड क्षेत्रलाई ‘नो पार्किङ जोन’ घोषणा गरी कार्यान्वयन गरिरहेको सन्दर्भमा धरहराको अन्डरग्राउण्ड पार्किङलाई विकल्पका रूपमा प्रयोग गर्ने योजना अघि सारिएको छ। कार्यवाहक प्रमुख डंगोलले न्युरोड व्यावसायिक क्षेत्र भएकाले सडकमा पार्किङ निषेध गरिएको अवस्थामा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गर्ने तयारी रहेको बताइन्।

उनले भनिन्, “धरहरालाई काठमाडौं महानगरलाई हस्तान्तरण गर्नुपर्छ भन्ने माग हामीले निरन्तर गर्दै आएका छौँ। विगतमा पनि यसको व्यवस्थापन महानगरले नै गर्दै आएको हो। स्थानीय सरकारको हैसियतमा धरहराको सञ्चालन र व्यवस्थापन गर्न महानगर तत्पर छ। आजको बैठकले हस्तान्तरण प्रक्रिया र सञ्चालन मोडालिटीबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।” डंगोलले धरहरा महानगरलाई हस्तान्तरण भएमा महानगरको आन्तरिक राजश्वसमेत वृद्धि हुने विश्वास व्यक्त गरिन्।