काठमाडौँ । काठमाडौँको थापाथलीस्थित एभरेस्ट कलेजमा ‘एभरेस्ट कलेज कार्निभल तथा फुड फेस्टिभल’ कार्यक्रम सम्पन्न भएको छ।
कलेजले विद्यार्थीहरूको व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विगत लामो समयदेखि गर्दै आएको यो वर्षको कार्यक्रम आइतबार सम्पन्न भएको हो।

फेस्टिभलमा जम्मा १८ वटा स्टल राखिएका थिए, जसमध्ये १२ वटा स्टल विद्यार्थीहरूले र ६ वटा स्टल विभिन्न प्रायोजकहरूले सञ्चालन गरेका थिए।
विद्यार्थीहरूले आफ्ना स्टलहरूमा विभिन्न मौलिक परिकार तथा खेलका योजनाहरू प्रस्तुत गरेका थिए । कलेजअन्तर्गत विभिन्न समयमा सम्पन्न खेलकुद कार्यक्रममा विजेताहरूलाई मेडल तथा ट्रफी प्रदान गर्नुका साथै सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

कलेजका बीबीए कार्यक्रमका निर्देशक हरिशराज घिमिरेले विद्यार्थीहरूलाई किताबी ज्ञानका अतिरिक्त बजारको वास्तविक अनुभव दिलाउन यो फेस्टिभल प्रभावकारी माध्यम बनेको बताए ।
“विद्यार्थीहरूले आफैँ स्पोन्सरसिप खोज्ने र कार्यक्रमको पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी लिएर कार्यक्रम आयोजना गरेका हुन्,” उनले भने, “स्नातक तह पूरा गरेपछि बजारमा आवश्यक पर्ने सञ्चार सीप (कम्युनिकेसन स्किल) र आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा सिकाउनु यसको मुख्य उद्देश्य हो।”

घिमिरेका अनुसार विशेषगरी बीबीएका विद्यार्थीहरूलाई भविष्यका व्यवस्थापक (म्यानेजर) का रूपमा तयार पार्न उनीहरूलाई नै आयोजनाको नेतृत्वदायी भूमिकामा अग्रसर गराइएको हो।
यस वर्षको फेस्टिभलमा नेपालका विभिन्न क्षेत्रका स्थानीय उत्पादनहरूले विशेष स्थान पाएका थिए। रोल्पाका विद्यार्थीहरूले अल्लोबाट बनेका ब्याग, पर्स, नेपाली टोपीका साथै स्थानीय स्तरमा उत्पादित भाङ्गो, टिमुर, जिम्मु र गेडागुडी प्रदर्शन गरेका थिए। त्यसैगरी पाल्पाको प्रसिद्ध चुकौनी र तराई क्षेत्रका चर्चित खाद्यान्नहरू पनि स्टलमा समावेश थिए।

कार्यक्रममा कलेजका प्लस टुदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूका साथै कलेज वरपरका समुदाय, सरोकारवाला र विभिन्न संघसंस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा विद्यार्थीहरूले गायन र नृत्यजस्ता सांस्कृतिक कार्यक्रममार्फत आफ्नो कला प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूको आन्तरिक क्षमता उजागर गर्न र उनीहरूलाई कार्यस्थलको अनुभव दिलाउन यस्ता कार्यक्रम सहयोगी हुने भएकाले कलेजले यस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको कलेजका सञ्चालक विष्णुहरि पाण्डेले बताए।


प्रतिक्रिया दिनुहोस्