काठमाडौंँ । प्रतिनिधिसभा निर्वाचनका कारण २०–२२ फागुन सार्वजनिक बिदा घोषणा भए पनि इन्धन आपूर्ति प्रभावित नहुने भएको छ। नेपाल आयल निगम ले बिदाकै बीच आफ्ना प्रादेशिक कार्यालय र डिपोहरू सञ्चालनमा राख्ने निर्णय गर्दै पेट्रोलियम पदार्थको सहज उपलब्धता सुनिश्चित गर्ने जनाएको हो।
निगमका अनुसार विभिन्न प्रदेश कार्यालयहरू तोकिएको मितिमा आलोपालो खुला रहनेछन्। कोशी (विराटनगर), मधेश (अमलेखगञ्ज), बाग्मती (थानकोट), गण्डकी (पोखरा), लुम्बिनी (भैरहवा), कर्णाली (सुर्खेत) र सुदूरपश्चिम (धनगढी) कार्यालयहरूले बिदाका दिनमै आपूर्ति व्यवस्थापन गर्नेछन्।
त्यस्तै, धनुषा महेन्द्रनगर इन्धन डिपो, नेपालगञ्ज डिपो, झापा चारआली शाखा र वीरगञ्ज शाखा कार्यालय पनि निश्चित मितिमा सञ्चालन हुनेछन्। निर्वाचन अवधिमा सवारीसाधनको चाप बढ्ने र आपूर्ति शृङ्खला अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगमले अग्रिम तयारी गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्