नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब रूपैयाँ


काठमाडौँ । २०८२ माघसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब ०२ अर्ब ६६ करोड पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ माघ मसान्तमा २९ खर्ब २६ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भएको हो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड रूपैयाँ कायम भएको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८२ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।