ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने सम्योग राई पक्राउ


काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई ग्रीस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार राईले ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट करिब रु २५ लाख रकम लिएको तर पछि सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।