काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रको छाता संगठन नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालको हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदनपाटन उच्च अदालतले खारेज गरेको छ।
अदालतको उक्त निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि बाटो खुलेको छ।
निर्वाचन प्रक्रियालाई लिएर अदालतमा रिट निवेदन दायर भएपछि मुद्दा विचाराधीन अवस्थामा रहेकाले संस्थाले न्यायालयप्रतिको सम्मान तथा विधिको शासनप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो।
तर पाटन उच्च अदालतले उक्त रिट निवेदन खारेज गरेको निर्णय सार्वजनिक भएसँगै निर्वाचनसँग सम्बन्धित कानुनी अवरोध हटेको नाडाले जनाएको छ।
अदालतको आदेशपछि अब नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि र स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा आयोजना गरिने तयारी गरिएको छ।
नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै यसले विवादित विषयमा स्पष्टता ल्याएको र संस्थालाई आगामी दिनमा थप स्थिरता तथा एकताका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
साथै, संस्थाले आफ्ना सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ।


प्रतिक्रिया दिनुहोस्