काठमाडौँ । नेपाल राष्ट्र बैँकको डेपुटी गर्भनर नियुक्ति अन्तिम समयमा रोकिएको छ ।
सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्र बैँकमा रिक्त दुइ डेपुटी गर्भनर पदमा नियुक्ति गर्ने तयारी गरेकाे थियाे ।
कार्की नेतृत्वको सरकारले आइतबार बसेको मन्त्रीपरिषद् बैठकबाटै डेपुटी गर्भनर टुङ्ग्याउन खाेजेकाे थियाे ।
यसका लागि मन्त्रीपरिषद् बैठक बस्नु तीन दिनअघि मात्रै अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग समन्वय गर्ने प्रयास गरेका थिए ।
अर्थमन्त्री खनालले भावी अर्थमन्त्रीका रूपमा अगाडि सारिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वार्णिम वाग्लेसँग फोनमा कुरा गरेका थिए ।
स्रोतहरूका अनुसार अर्थमन्त्री खनालले वाग्लेलाई फोनसम्पर्क गरेर डेपुटी गर्भनर धेरै लामो समय खाली राख्न नहुँने भन्दै नियुक्तिका लागि सुझाव मागेका थिए ।
अर्थमन्त्री खनालले नियुक्तिका क्रममा वाग्ले र रास्वपाको चासोलाई सम्बोधन गर्ने तर लामो समय डेपुटी गर्भनर खाली नराख्ने इच्छा व्यक्त गरेका थिए ।
कुराकानीका क्रममा वाग्लेले आफूले नेतृत्वसँग छलफल गरेर खबर गर्ने बताएका थिए ।
तीनदिनसम्म खबर नआएपछि डेपुटी गर्भनर नियुक्ति हुन सकेन । स्वर्णिमले जवाफ नर्फकाएकोमा अर्थमन्त्री खनालले चित्त दुखाएका छन् ।
अर्थमन्त्री खनालले निकटस्थहरूसँग भन्ने गरेका छन्,“हामीले उहाँहरूको इच्छाभन्दा बाहिर गएर नियुक्ति गर्न खोजका पनि थिएनौँ तर वेवास्ता जस्तो गर्नुभयो ।”
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गर्भनरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ ।
राष्ट्र बैंकको विशिष्ट श्रेणीका अधिकृतमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने राष्ट्र बैंक ऐनमा छ ।
राष्ट्र बैंकमा हाल १८ जना कार्यकारी निर्देशक छन् । उनीहरूमध्येबाटै डेपुटी गर्भनर नियुक्त हुने छन् ।
फागुन २४ गतेदेखि नीलम ढुंगाना र बमबहादुर मिश्रले नियमित अवकाश पाएका कारण डेपुटी गर्भनर पद खाली भएको हो ।
फागुन २१ गते भएको प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एकल बहुमतसहित पहिलो दल बनेर आएको छ ।
वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनाउने तयारीमा रास्वपा छ ।
चुनावी म्यान्डेट पाएको वर्तमान सरकारले रास्वपाकै सहमतिमा आइतबार नै डेपुटी गर्भनर नियुक्ति गर्न खोजेको थिए ।
रास्वपा नेतृत्वबाट कुनै जवाफ नआएपछि डेपुटी गर्भनर नियुक्ति रोकिएको छ ।
अब नयाँ सरकार आएपछि मात्रै डेपुटी गर्भनर नियुक्तिको सम्भावना देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्