काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ ।
फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०८२ फागुन ९ गतेको मन्त्रीपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौँ महानगरलाई दिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो । काठमाडौँ महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले शुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए । महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
उनकाअनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो । पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटादरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको उनले जानकारी दिए । उनकाअनुसार नौ वटा उपकरण भने पहिला नै जडान गरिएका थिए । पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उनकाे भनाइ छ ।
उनले भने, “तीन वटा तलामा प्रत्येक तल्लामा १० थानको दरले ३० थान हामीले फायर एक्स्टिङ्विग्सर जडान गरेका छौँ । त्यो भन्दा पहिलो ९ वटा गतवर्ष नै जडान गरिएका थिए । सिसिटिभी क्यामेराहरु भने पहिलेदेखि नै थिए तर अपुग छ, हामी थप गर्ने तयारीमा छौँ । आवश्यकताअनुसार अपुग भएका कुराहरु हामी थप गर्दै जानेछौँ ।”
उनकाअनुसार धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ । यस्तै बी–२ मा करिव ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने उनले जानकारी दिए ।
उनकाअनुसार यी दवै क्षेत्र सवारी साधनले दैनिक प्याक हुने गरेको छ । सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह (एयर सर्कुलेसन)मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले बताए ।
उक्त तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ । उनले सवारीको अत्याधिक चाप भएको अवस्थामा भने उक्त तलामा पनि सवारीसधान पार्किङ गर्ने गरिएको जानकारी दिए । उनकाअनुसार अपाङ्गमैत्री पार्किङ स्थानको पनि व्यवस्था गरिएको छ ।
महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै धरहराको पार्किङ सञ्चालनमा ल्याएको हो । ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ । महानगरकाअनुसार काठमाडाैँ महानगरपालिका भित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा सवारी साधन पार्किङ गर्न पाइँदैन । नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको पनि महानगरले जनाएको छ ।
उनले भने, “१३५ वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । आवश्यकता अनुसार ठाउँठाउँमा अपाङ्गमैत्री सवारीसाधनहरुको पनि व्यवस्थापन गर्ने गरिएको छ । अहिले महानगरपालिका यो शहर क्षेत्रभित्रका विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा, जमल क्षेत्रलाई लक्षित गरेर पार्किङ संचालनमा ल्याएको हो । त्यो क्षेत्रमा हामीले पार्किङ निषेध गरेका छौँ, फुटपाथमा ।”
नगर प्रहरी बलका प्रमुख जोशीकाअनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क राखिएको छ । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् । पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भित्र्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उनले जानकारी दिए ।
हाल पार्किङ क्षेत्रमा दिनभरी सवारी पार्किङ गरेर राख्ने प्रवृत्ति देखापरेको प्रमुख जोशीले बताए । उनकाअनुसार बिहान पार्किङ गरेर बेलुका मात्र निकाल्ने प्रवृत्ति देखिएको छ । यसले सवारी पार्किङमा केही समस्या देखिएको उनको भनाइ छ । आगामी दिनमा यसलाई सुधार गर्दै थप प्रभावकारी व्यवस्थापन गरिने उनले जानकारी दिए ।
उनले भने, “हामीले निःशुल्क पार्किङको व्यवस्था गरेका छौँ, कुनै शुल्क लिएको छैन । नगरप्रहरी विहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म तैनाथ हुन्छन् । आवश्यकताका आधारमा कहिले कहीँ सवारीसाधन लिन नआउने, अबेर आउँदाखेरी ९÷१० बजेसम्म पनि हामी पर्खिने गरेका छौँ । हाम्रो समय भनेको बिहान ८ बजे खुलेर बेलुका ५ बजे बन्द हुने हो । बेलुका ५ बजेपछि सवारी निकाल्ने मात्रै हो, पार्किङ लागी ईन हुँदैन, एक्जिट मात्रै हो । यहाँको पार्किङको उद्देश्य मोविलिटी गराईराख्ने हो तर हाल त्यस्तो देखिएको छैन । यो कुरालाई हामी आगामी दिनमा परिमार्जन गरेर लैजान्छौँ । अहिले बिहान आउने सवारी राख्ने र बेलुका निकालेर लैजाने धेरै देखिएको छ । त्यसले गर्दा सबैको पहुँचमा परेको छैन । यद्यपि यहाँ सवारीसधान पार्किङ गर्न नपाएर फर्किन परेको अवस्था छैन । हामीले व्यवस्थापन गरेका छौँ ।”
उनले सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैँले लिनुपर्ने बताए । साथै सवारीसाधन पार्किङ गर्दा अरुलाई असहज नहुनेगरी गरिदिन पनि आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्