अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी अमेरिका–इजरायल युद्धका विषयमा इरानले सम्झौता गर्न अस्वीकार गरेमा ‘नर्क निम्त्याउने’ ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएका छन् ।
प्रेस सचिव लेभिटले भनिन्, “राष्ट्रपति ट्रम्पले खाली धम्की मात्र दिनुभएको होइन र उहाँ कठोर कदम चाल्न तयार हुनुहुन्छ । अब उप्रान्त हुने कुनैपनि हिंसाको जिम्मेवार इरानी शासन हुनेछ, किनकि उनीहरूले आफू पराजित भइसकेको कुरा बुझ्न र सम्झौतामा आउन अस्वीकार गरिरहेका छन् ।”
इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा वासिङ्टनले कोसँग वार्ता गरिरहेको छ भन्नेकुरा खुलाउन लेभिटले अस्वीकार गरिन् ।
उनले थपिन्, “हामी यी वार्ता र संवादका विवरणहरूमा जाँदैनौँ, किनकि यी अत्यन्त संवेदनशील कूटनीतिक छलफलहरू हुन्।”
लेभिटले फेब्रुअरी २८ मा शुरु भएको यो युद्ध चार देखि ६ हप्तासम्म जारी रहने अनुमान गरिएको दाबी गरिन् ।
यता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरान र अमेरिकाबीच कुनै वार्ता वा छलफल नभइरहेको बताएका छन्। बाघेईले भने, “अमेरिकी कूटनीतिलाई कसैले पनि विश्वास गर्न सक्दैन ।”
विगतमा आणविक मुद्दामा भएको वार्ताका क्रममा अमेरिकाले गरेका आक्रमणहरूले गर्दा इरानसँग अमेरिकी कुटनीतिको निकै कष्टकर अनुभव रहेको उनले उल्लेख गरे ।
इरानको मुख्य सैन्य कमान्ड ‘खातम अल–अन्बिया’ केन्द्रिय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फगारीले आफ्नो आन्तरिक कलहका कारण अमेरिका आफैँसँग वार्ता गरिरहेको टिप्पणी गरे ।
उनले अमेरिकालाई आफ्नो हारलाई सम्झौताको रूपमा नलुकाउन आग्रह गर्दै भने, “शत्रुहरूले घमण्ड गर्ने रणनीतिक शक्ति अहिले रणनीतिक हारमा परिणत भएको छ ।”


प्रतिक्रिया दिनुहोस्