काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश निर्माणका लागि भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको बताएका छन् ।
शुक्रबार पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वले अब नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनले नागरिकको सक्रिय सहभागिता बिना विकास सम्भव नहुने भन्दै मुलुकको विकासका लागि श्रमदान अपरिहार्य रहेको बताए ।
ठूलो संख्यामा नागरिकको श्रम परिचालन गर्नसके मात्र विकासले गति लिने भन्दै उनले श्रम संस्कृति पार्टीमा कम्तिमा एक करोड श्रमदाता जोड्ने लक्ष्य रहेको उल्लेख गरे ।
उनले भने, “कुराले देश बन्दैन । कामले मात्रै बन्ने हो । त्यसकारण हामी सबै मिलेर काम गरौँ । मुलुकको विकासका लागि एउटा यस्तो संगठन निर्माण गरौँ जुन संगठनमा थोरैमा पनि एक करोड श्रमदाता होस् । एकैचोटि एक करोड मान्छेको दुई करोड हात चल्दा के हुन्छ होला ? श्रमदानले हामीलाई मुख्यतः तीन फाइदा गर्छ । हाम्रो शरिर बलियो बनाउँछ । यसले हाम्रो समाज बलियो बनाउँछ र श्रमदानले मुलुकलाई विकासको दिशामा अगाडि पनि बढाउँछ । हामी दार्चुलामा पुल निर्माण गर्दैछौँ । राज्यले गर्न नसकेको काम श्रमदानले गर्छ । त्यसले गर्दा यसले विकास पनि गर्छ ।”
सरकारले गर्न नसक्ने कामहरु समेत नागरिकको स्वस्फूर्त श्रमदानले सम्भव हुने उनको भनाइ छ । उनले दार्चुलामा श्रमदानमार्फत पुल निर्माण गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्