नेपाल जग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष विदुर धमला नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्यको उम्मेदवार छन् । पर्यटन, बैंकिङ, एयरलाइन्स, निर्यात व्यवसायको अनुभवसहित अहिले घरजग्गा तथा आवास व्यवसायमा सक्रिय रहेका धमलाले महाङ्घको यही चैत २९ र ३० गते हुने साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
सन् १९८६ मा होटल म्यानेजमेन्टको अध्ययन पुरा गरेपछि पर्यटन क्षेत्रमा लागेका धमलाले होटल व्यवसाय, हस्तकला निर्यात, एयर काष्ठमण्डपको सञ्चालक, तत्कालीन एक्सिस विकास बैँकको अध्यक्ष हुँदै पछिल्लो समय घरजग्गा व्यवसाय र हस्पिटालिटी क्षेत्रमा बढी सक्रिय छन् । यसैसन्दर्भमा आउँदै गरेको महासङ्घको चुनावको सेरोफेरोमा रहेर उम्मेदवार धमलासँग गरिएको कुराकानी :
नेपाल उद्योग वाणिज्य महासङ्घमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ । घरजग्गा तथा आवास निर्माणमा लामो समयको अनुभव पछि महासङ्घमा केन्द्रीय सदस्यको उम्मेदवार बन्दै गर्दा यहाँका एजेन्डा के छन् ?
म घरजग्गा तथा आवास व्यवसायी सङ्घमा प्रत्यक्षरूपमा आवद्ध भएको २५/२६ वर्ष भयो । मैले घरजग्गा तथा आवास विकास संघकाे पनि नेतृत्व गरे ।
२०५० सालमा स्थापना भएको नेपाल जग्गा तथा आवास विकास संघको संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठ हुनुहुन्छ । उहाँकै नेतृत्वमा संस्था स्थापना भएदेखि नै हामीले सरकारसँग नेपालमा घरजग्गा तथा अवासका मुद्दाहरू ‘लबिङ’ गर्दै आयौँ ।
विगतमा के अनुभूति गर्यौँ भने घरजग्गा कारोबार गर्ने व्यवसायीलाई हेर्ने दृृष्टिकोण सकारात्मक देखिएन । यसपछि हामीले घरजग्गा कारोबारलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ र नयाँ ढाँचामा जानुपर्छ भन्नेमा जोड दियौँ ।

म महासङ्घमा कुनै पद प्रतिष्ठाका लागि जान चाहेको होइन । देश बन्यो भने हामी सबै बन्छौँ । व्यक्ति धनी भएर हुँदैन देश धनी हुनुपर्छ । देश धनी हुनका लागि प्रयाप्त पूर्वाधारहरूको विकास हुनुपर्यो,सहरीकरण हुनुपर्यो,व्यवस्थित बस्तीको विकास हुनुपर्यो । मैले यी सबै एजेन्डा बुझेको छु र उहाँहरूसँग राख्न सक्छु –विदुर धमला, केन्द्रीय कार्यकारिणी समित सदस्यका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासङ्घ
व्यवसायीले काम गर्ने वातावरण कसरी बन्छ भन्ने विषयमा धेरै प्रयास गर्यौँ । हाम्रो निरन्तर प्रयासका बाबजुत पनि सुनुवाइ भएन । अब निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था भनेको नेपाल उद्योग वाणिज्य महासङ्घ हो । उद्योग वाणिज्य महासङ्घले सबै क्षेत्रको आवाजको प्रतिनिधित्व गर्छ र महासङ्घले उठाएको आवाज सरकारले पनि सुन्छ भन्ने लाग्यो ।
घरजग्गा व्यवसायीमा लागेका व्यक्तिहरूको प्रवेश पनि महासङ्घमा कम छ । महासङ्घमा घर जग्गा व्यवसाय कस्तो हो र कस्तो हुनुपर्छ ? भन्ने प्रयाप्त जानकारी छैन । महासङ्घका अहिलेसम्मका अध्यक्षलाई घरजग्गा तथा आवास व्यवसायलाई थाहा पनि छैन होला ।
जीवनमा घर जग्गा कारोबार सबैले गरेकै हुन्छन् तर कस्तो ऐन कानुनले कस्तो किसिमले काम गर्ने वातावरण हुन सक्छ ? यो क्षेत्रलाई कसरी मर्यादित र सभ्य बनाउन सक्छ भन्ने कुरा उद्योग वाणज्य महासङ्घको नेतृत्वले सोंचेको जस्तो मलाई लागेन ।
यो विषय महासङ्घको नेतृत्वलाई बुझाउने धेरै प्रयास गर्यौँ । दुई कार्यकाल प्रतिनिधि पनि पठायौँ । यति गर्दा पनि हाम्रो आवाजहरू नपुगेको, हामीले भन्न खोजको कुरा महासङ्घको नेतृत्वले नबुझेको कारणले सरकारसमक्ष हाम्रा मुद्दा उठाउन मैले उम्मेदवारी दिएको हो । यसले नीति निर्माणमा पक्कै सहयोग पुग्ने विश्वास छ ।
कतिपयले आफ्नो व्यवसायको फाइदाको लागि महासङ्घको नेतृत्वमा जान खोजेको भन्छन् नी ?
यो त सोंचाइमा भरपर्ने कुरा हो । मलाई व्यक्तिगत कुनै चाहना छैन । मैले खोजेको के हो भने नेपालको ऐन कानुनलाई परिमार्जित गरेर व्यवस्थित वस्ती विकास र सहरीकरणका लागि अवधारणा ल्याउनुपर्छ ।
हामीले गरेको प्रयासले आउँदो पुस्तालाई पनि काम लागोस् भन्ने हो । इन्डियाको गुडगाउँ हेरौँ, नोयडा हेरौँ कस्तो भइसक्यो । ती सब डेभलपर्सहरूले बनाएको हो । चाइनाका सिटीहरू हेरौँ । हाम्रोमा सिटी किन विकास भएन भने डेभलपर्सहरूले काम गर्न नै पाएको छैन ।
महासङ्घमा विगतमा पनि प्रतिनिधित्व भएकै हो तर यहाँहरूको आवाज किन सुनुवाई भएन ? हाम्रो संघबाट महासङ्घमा ओमराज भण्डारी र मिनमान श्रेष्ठ जीले प्रतिनिधित्व गर्नुभएको थियो । बिचमा खाली भयो । घरजग्गा व्यवसायीको आवाज पुगेन वा सुनुवाई भएन भने भने अर्थतन्त्रमै कसरी प्रभाव पर्ने रहेछ भन्ने कुरा म उदाहरण दिन्छु ।
अहिले बैँकमा पैसा छ, व्यवसायीले पैसा उठाउन सक्या छैन वा लिएका छैनन् । किन व्यवसायीको मनोबल छैन ? किन यस्तो भयो त ? वास्तवमा घरजग्गा व्यवसाय भनेको ‘मास्टर बिजनेस’ हो । यो हरेक व्यवसायसँग जोडिएको हुन्छ । टायल्स, फर्निचर, सिमेन्ट, छड, किचेनका सामाग्री लगायत सबै व्यवसाय घरजग्गासँग जोडिएको हुन्छ ।
घर जग्गा व्यवसाय अहिले चल्न सकेको छैन यदि घर जग्गा व्यवसाय राम्रो चलेको भएदेखि यो समस्या नै आउने थिए । सरकारले नीति नियम बनायो तर व्यवहारिक भएन । महासङ्घ सरकारको नीति क्षेत्रको सल्लाहकार पनि हो । घरजग्गाजस्तो ठुलो क्षेत्रलाई महासङ्घले समेट्न सकेन कि भन्ने हो ।
वस्तुगत क्षेत्रका नेतृत्वको गुनासो के छ भने महासङ्घमा हाम्रो कुरा सुनुवाई नै हुँदैन भन्ने गुनासो छ । तपाईंले प्रतिनिधित्व गर्दा पनि घरजग्गा तथा आवास क्षेत्रको सुनुवाई कति प्रभावकारी होला ?
हामीले असल नियतले काम ग¥यौँ भने नसुन्ने कोही पनि हुँदैन । मलाई विश्वास छ कि सही तरिकाले मुद्दा उठायौँ भने आवाजको सुनुवाई हुनेछ । हामीले प्रभावकारी ढङ्गले उठान गर्नुपर्ने विषय छन् ।
घरजग्गा ऐन,२०७६ ले घरजग्गा ऐन भनेर उद्योग सरहको मान्यता दियो तर उद्योग सरहको व्यवहार गरेको छैन । ट्रेडिङ व्यवसायलाई, निर्माण व्यवसायलाई ऋण सतप्रतिशत छ । हामीलाई ३२ प्रतिशत मात्रै कोल्याटरल बेसमा ऋण दिएको हुन्छ । बैंक ग्यारेन्टीदेखि फाइनान्सिङमा ठुलो समस्या छ ।
६८ प्रतिशत लगानी हालेर कम गर्न निकै गाह्रो छ । अब विदेशमा त प्रोजेक्टको आधारमा ऋण दिएको हुन्छ । नेपालमा प्रोजेक्ट फाइनान्सिङको समस्या छ । फाइनान्सिङ नभएपछि नयाँ परियोजनाहरू आउँदैनन्, सहरहरू निर्माण हुँदैनन्, अनि सानोसानो परियोजना बनाएर सहरको विकास कसरी हुनसक्छ ? हामीले कल्पना गरेको स्मार्ट सिटी स्मार्ट निर्माण गर्न निकै चुनौतिपूर्ण छ ।
घरजग्गालाई हेर्ने दृष्टिकोणमै समस्या छ । व्यक्तिले पनि कारोबार गर्छ । कम्पनीले पनि कारोबार गर्छ । भूमि सम्बन्धी २०२१ मा हदबन्दीको व्यवस्था छ । कम्पनीलाई पनि हदबन्दी, व्यक्तिलाई पनि हदबन्दी भनेपछि कसरी काम गर्न सकिन्छ ? हिजो सरकारले नै कम्पनीलाई जग्गा किन्न दियो घर बनाउन दियो अनि स्वीकृति पनि दियो । पछि बिक्री गर्नलाई हदबन्दी लगाइदियो । सरकारकै कारण एउटा व्यापारी बिग्रियो ।
तपाईंले उठान गरेको विषय त निरन्तर बहसको विषय बन्दै आएकै छ । कम्पनीमार्फत काम गर्नुपर्छ, व्यक्तिले घरजग्गाको सामूहिक कारोबार गर्नुहुँदैन भन्ने आवाज नयाँ होइन । व्यवसायी तयार तर कार्यान्वयन हुँदैन । समस्या कहाँ हो ?
हामीले त काम गर्ने हो, राज्यलाई कर तिर्छौँ । कम्पनीले ३०% कर तिर्नुपर्छ । कम्पनीले रोजगारी सिर्जना गर्छ ।
व्यक्तिले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छ । एउटा व्यक्तिले कारोबार गर्नु र कम्पनीले कारोबार गर्नुमा धेरै फरक छ । हामीले धेरै पटक नेपाल सरकारसँग आग्रह गर्दै आएका छौँ । सहरी विकास ऐन, भूमि सम्बन्धी ऐनमा समस्या छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा समस्या छ । यसैमा वातावरणीय मूल्याङ्कन सम्बन्धी प्रावधानले थप जटिल बनाएको छ ।
कानुनकै कारण घरजग्गा व्यवसायमा ठुलो समस्या छ । अब अहिले पनि सहरी विकास ऐन भनेर एउटा ड्राफ्ट बनेको थियो । यसमा व्यक्तिले पनि पाँचतलासम्म घर निर्माण गरेर बेच्ने भनिदियो ।
घर बनाएर बिक्री गर्ने काम त कम्पनीले गर्नुपर्छ, व्यक्तिले होइन । विश्वमा नभएको समस्या यहाँ कसरी भयो ? हामीले हेर्दा त सहरी विकास मन्त्रालय, भूमि मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय अर्थ मन्त्रालय जोडिन्छ ।
यसमा यी मन्त्रालयहरूको समन्वय नै नहुने रहेछ । अहिले फेरि ३ करोडसम्मको कारोबार गर्नेलाई ब्रोकर लाइसेन्स दिने भनेर भन्या छ । ब्रोकर भनेको को हो ? व्यक्ति हो की ? कम्पनी हो की ? डेभलपर हो कि ? लगानी कर्ता हो की ? यसमा त स्पष्टता हुनपर्छ ।
महासङ्घमा आफ्ना मुद्दा सुनुवाई हुने आशाका साथ उम्मेदवारी दिँदै हुनुहुन्छ । तपाईंले उठान गर्नु मुख्यमुख्य मुद्दा चाहीँ के के हुन् ?
मैले नेपाल जग्गा तथा आवास विकास संघको नेतृत्व गर्दा सुझावहरू पटकपटक लेखेर दिइयो । सार्वजनिक रूपमा पनि बहस गरेकै छौँ । महासङ्घले नीतिगत हिसाबले बृहत ढङ्गले काम गरेको देखिदैन । वस्तुगतमा संस्थाहरू धेरै छन् तर क्षेत्रगत हिसाबले एकीकृत गरेर हेर्न सकिन्छ ।
घरजग्गाको विषय सबैको सरोकारको विषय हो भन्ने लाग्छ तर पनि किन सबैले वेवास्था गरेको भन्ने अनौठो लाग्छ । उद्योग वाणिज्य महासङ्घको नेतृत्व,वस्तुगत संघको नेतृत्वले घरजग्गा क्षेत्रलाई प्राथमिकता दिएन भन्ने हाम्रो भनाई हो ।

अहिले पनि म भन्दा अझै राम्रो मान्छ आउँछ, नीतिगत तहमा अझै सशक्त भूमिका निर्वाह गर्नसक्ने छ, विज्ञ छ भने म पछाडि हट्छु र उहाँलाई सहयोग गर्छु । अहिले महासङ्घको केन्द्रीय सदस्यको उम्मेदवार बन्न खोज्नुको कारण देशलाई केही निश्चित समय दिन खोजेको हो । मेरो यहाँ कुनै पनि व्यक्तिगत स्वार्थ छैन ।
सरकारले पनि ट्याक्स उठाउने क्षेत्र गाडी देख्यो तर अरु क्षेत्र वेवास्था गर्यो। जबकि घरजग्गा व्यवसायलाई सबैभन्दा ठुलो कर सङ्कलनको क्षेत्र हुन सक्छ । यसरी हेर्दा उद्योग वाणिज्य महासङ्घले पनि कतै न कतै कमजोरी गर्यो ।
म निर्वाचित भएर गएको अवस्थामा सशक्त ढङ्गले आवाज उठाउने छु । हाम्रो कुरा राखेपछि तपाईहरुले यो गर्नुपर्छ भनि भन्छौँ । सरकारमा अनि सहरी विकास भन्ने एउटा कमिटी छ हाम्रो प्रतिनिधित्व भएपछि सरकारमा पनि आफ्नो कुरा राख्न सक्छौँ ।
भविस्यका लागि,समृद्ध अर्थतन्त्रका लागि, रोजगारी सिर्जनाका लागि, उद्योगको दिगोपनाका लागि आवाज उठाउने छु र आफ्ना कुरा प्रष्ट राख्नेछु । घरजग्गा व्यवसाय नचल्दासम्म अन्य व्यवसाय चलायमान हुनसक्दैन ।
तपाईंसँग त धेरै अनुभव पनि छ । तपाईंले महासङ्घका चुनाव जित्दा त धेरै क्षेत्रको प्रतिनिधित्व पो हुने रहेछ ।
हो मैले प्रतिनिधित्व गर्दा धेरै क्षेत्रको प्रतिनिधित्व हुन्छ भन्ने लाग्छ । सुरुमा म पर्यटन क्षेत्रमा खासगरी होटेल व्यवसायमा संलग्न भए, हस्तकला निर्यातमा संलग्न भए, बैंकिङ क्षेत्र, एयरलाइन्स क्षेत्रमा काम गरे । एयरलाइन्सलाई पर्यटनसँग जोड्ने प्रयास गरे । अहिले घरजग्गालाई पर्यटनसँग जोड्ने प्रयास गरेको छु ।
नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ नेतृत्वको लागि सहमतिको कुरो पनि उठिरहेको छ । यसमा सम्भावना कस्तो छ ?
महासङ्घमा जाने भनेको नीतिगत, मुद्दागत विषयहरू उठान गर्न हो ।
सरकारले बनाउने ऐन कानुनमा सहयोग गर्न हो जस्तो लाग्छ । महासङ्घमा को व्यक्ति जान्छ भन्ने मुख्य विषय होइन, मुद्दा के हो र प्रभावकारी कसरी बनाउने भन्ने मुख्य कुरा हो ।
अहिलेको प्राथमिकता हेर्दा समूह बनाएर एकले अर्कोलाई हिलो छ्यापेर तिकडम भइरहेको छ । मै ठिक हो भन्ने धारणा आइरहेको छ,यो चाहीँ गलत हो भन्ने लाग्छ । सबैको क्षेत्रगत प्रतिनिधित्व गरेर जान सकियो भने भोलीका दिनमा राम्रो हुन्छ । सकेसम्म सहमति गरेर जान सकियो भने राम्रो हुन्छ ।
सहमति भन्दाभन्दै एउटा गुट(वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकाल)मा परिसक्नुभयो तपाईं नै ?
म सबैलाई उत्तिकै राम्रो मान्छु । म हिजो गुटमा नलाग्दा पनि अञ्जन श्रेष्ठलाई चुनाव जिताउन मैले सहयोग गरेको हो । अहिले पनि म यो समूह र उ समूह भन्ने पक्षमा छैन ।
अहिले पनि म भन्दा अझै राम्रो मान्छ आउँछ, नीतिगत तहमा अझै सशक्त भूमिका निर्वाह गर्नसक्ने छ, विज्ञ छ भने म पछाडि हट्छु र उहाँलाई सहयोग गर्छु । अहिले महासङ्घको केन्द्रीय सदस्यको उम्मेदवार बन्न खोज्नुको कारण देशलाई केही निश्चित समय दिन खोजेको हो । मेरो यहाँ कुनै पनि व्यक्तिगत स्वार्थ छैन ।
चुनावी अभियानमा हुनहुन्छ । अन्तिममा केही भन्न छुटेको विषय छन् की ?
मेरो अनुरोध के छ भने म महासङ्घमा कुनै पद प्रतिष्ठाका लागि जान चाहेको होइन । देश बन्यो भने हामी सबै बन्छौँ । व्यक्ति धनी भएर हुँदैन देश धनी हुनुपर्छ । देश धनी हुनका लागि प्रयाप्त पूर्वाधारहरूको विकास हुनुपर्यो,सहरीकरण हुनुपर्यो,व्यवस्थित बस्तीको विकास हुनुपर्यो । मैले यी सबै एजेन्डा बुझेको छु र उहाँहरूसँग राख्न सक्छु ।
म यहाँहरू सबैलाई के अनुरोध गर्छु भने हाम्रो देश साच्चै राम्रो बनाउन चाहनुहुन्छ भने मलाई ठाउँमा पुगेर एजेन्डा राख्ने अवसर दिनुहोला । सम्भावनाहरूलाई कसरी प्रस्तुत गर्ने भन्ने अवसर दिनुहुने छ भन्ने विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्