राष्ट्र बैंकसँग वित्तीय सुशासनको योजना माग,सुपरीवेक्षण र नियमनको कमजोरी विवरण प्रधानमन्त्री सचिवालयमा


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तीय सुशासनको योजना र प्रतिबद्धता माग गरेका छन् ।

प्रधानमन्त्री शाहले गभर्नर प्रा.डा. विश्व पौडेललाई बोलाएर छलफल गर्दै सरकारको कार्ययोजना कार्यान्वयनका विषयमा वित्तीय सुशासनको प्रतिवद्धता र योजना माग गरेका हुन् ।

सोमबार भएको भेटमा प्रधानमन्त्री शाहले राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणकाबिच पनि बैंक तथा वित्तीय संस्थामा कसरी अनुशासनहिनताको स्थिति आएको भन्दै चासो व्यक्त गरेका थिए ।

राष्ट्र बैंकको निगरानी हुँदाहुँदै पनि कर्णाली विकास बैंक सङ्कटमा गएको थियो भने विभिन्न वाणिज्य बैंकहरूमा समेत समस्या देखिएको छ । राष्ट्र बैंकबाटै प्रधानमन्त्री शाहको सचिवालयमा विगतमा भएका कमजोरीबारे रिपोर्ट पुगेको उच्चस्रोतको दाबी छ ।

राष्ट्र बैंक स्रोतबाटै प्रधानमन्त्री कार्यालयमा कर्णाली विकास बैंक, प्रभु बैंक,एनआइएमबी बैंक लगायतमा कसरी समस्या सिर्जना भयो र विभागीय प्रमुखहरूले कहाँ कहाँ कमजोरी पुगे भनेर विवरणहरू समेत पुगेका छन् ।

डेपुटी गर्भनरमा प्रस्तावित र चर्चा भएका नामबारे समेत आन्तरिक स्रोतबाट उजुरी पुगेको छ ।

‘सबैभन्दा धेरै बदमासी गर्नेहरू’को नै नाम चर्चामा रहेको भन्दै राष्ट्र बैंकभित्रबाटै पुनर्विचार गर्न सुझावसहितको सुझावहरू प्रधानमन्त्री सचिवालयमा पुगेको छ ।