महासङ्घको चुनावमा वर्तमान अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ प्यानलसहित आमनेसामने


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा आगामी नेतृत्वका लागि लिएर वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष (भावी अध्यक्ष) अञ्जन श्रेष्ठ आमनेसामने हुने देखिएको छ ।

बाहिर सार्वजनिक मञ्चमा सहमतिको कुरो गरे पनि महासङ्घका वर्तमान अध्यक्ष र भावी अध्यक्ष पूर्ण तयारीका साथ चुनावका अभियानमा छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ विधानअनुसार अब स्वत : अध्यक्ष हुन् ।

होलीको अघिल्लो दिन साँझ वस्तुगततर्फ उपाध्यक्ष शिवप्रसाद घिमिरेले गरेको कार्यक्रममा अञ्जनले पूर्णरूपमा एउटा पक्षलाई समर्थन गर्दै सार्वजनिक भएका थिए ।

कार्यक्रममा अञ्जनको फोटो राखेर अन्य उम्मेदवारको नाम र फोटो सार्वजनिक गरिएको थियो ।

यसअघि नै फागुन ११ गते वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकाल समूहको उम्मेदवारी घोषणा सभामा अध्यक्ष चन्द्र ढकाल उपस्थिति भएका थिए ।

लगत्तै हेमराज समूहले नै राखेको होली कार्यक्रममा अध्यक्ष ढकाल उपस्थित भए । अञ्जन श्रेष्ठ समूहले २०८२ चैत ९ गते सार्वजनिक गरेको कार्यक्रममा भने अध्यक्ष ढकाल उपस्थित भए ।

कार्यक्रममा सबैले सर्वसम्मतिको कुरा गरे तर भावी अध्यक्ष अञ्जनले भने आफ्नो समूह भनेर घोषणा गरेका थिए ।

अध्यक्ष चन्द्र ढकालले भने चैत १६ गते होटेल सोल्टीमा हेमराज समूहले राखेको कार्यक्रममा आफूलाई सार्वजनिक रुपमा खुलाए । उनले भने,“म अहिले पनि सर्वसम्मतिकै पक्षमा छु । मेरो अन्तिमसम्म पनि प्रयास यही नै हुने छ तर यदी तपाईंहरूले मलाई मेरो हो भन्नुभयो भने खुलेर लाग्नेछु ।”

यो ढकालको पहिलो सार्वजनिक मन्तव्य थियो जहाँ महासङ्घमा एउटा पक्षलाई समर्थन गर्ने विषय बोलेका थिए । त्यसो त वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले अध्यक्ष ढकालकै फोटो राखेर निम्तो बाँडेको थियो ।

कार्यक्रममा सर्वसम्मति गरेर महासङ्घले नयाँ सन्देश प्रवाह गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड त दिए तर यति हुँदाहुँदै उनले हेमराज ढकालको समूहलाई समर्थन गर्दै भने,“यति राम्रो टिम छ, तपाईंहरूले जितिसक्नुभयो ।”

अञ्जनले आफ्नो कार्यकाललाई सफल बनाउन भन्दै आफूअनुकुल निर्माण गर्न खोजिरहेका छन् । अध्यक्ष ढकाल भन्दा पहिले अञ्जन नै समूह बनाएर खुलेका थिए ।

अञ्जन समूहमा रहेका केन्द्रीय कार्यकारिणी सदस्य उम्मेदवार राजकुमार कार्की भन्छन्,“महासङ्घ अध्यक्षमुखी संस्था भएकाले अध्यक्षको चाहना अर्कोतिर निर्वाचित टिम अर्को खालको बन्यो भने अध्यक्षलाई काम गर्न गाह्रो हुन्छ । म सबैलाई के आव्हान गर्न चाहन्छु भने जो निर्वाचित भएर आए पनि अध्यक्षकै टिम हो । भावी अध्यक्ष(अञ्जन श्रेष्ठ)सँग बसेर छलफल गरेर गयो भने सर्वसम्मतको अवस्था बन्न सक्छ ।”

हेमराज ढकाल समूहबाट केन्द्रीय कार्यकारिणी सदस्य उम्मेदवार बनेका विदुर धमलाले व्यक्ति भन्दा मुद्दा प्राथमिकता बन्नुपर्नेमा जोड दिन्छन् । उनी सर्वसम्मति भए त्याग गर्न तयार रहेको समेत बताए । महासङ्घमा तीव्र गुटबन्दी भएको भन्दै असन्तुष्टि पोखे ।

उनले भने,“अहिलेको प्राथमिकता हेर्दा समूह बनाएर एकले अर्कोलाई हिलो छ्यापेर तिकडम भइरहेको छ । मै ठिक हो भन्ने धारणा आइरहेको छ,यो चाहीँ गलत हो भन्ने लाग्छ । सबैको क्षेत्रगत प्रतिनिधित्व गरेर जान सकियो भने भोलीका दिनमा राम्रो हुन्छ । सकेसम्म सहमति गरेर जान सकियो भने राम्रो हुन्छ ।”

सर्वसम्मतिका लागि पूर्वअध्यक्षहरूले प्रयास गरिरहेको बताएका छन् ।

काठमाडौँमा भएको एक कार्यक्रममा पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले भने,“हामीलाई चाहिने भनेको निजी क्षेत्र एक भएर जानुपर्छ । हामी बलियो भयौँ भने नै हामीले बोलेका कुराहरूको माग चाहिँ पूरा हुन सक्छ । अब गठन हुने सरकार दुई तिहाइ बहुमतको छ । उहाँहरूले चाहनुभयो भने जे पनि हुनसक्छ । महासङ्घमा पनि सहमतिसहित अगाडि बढ्नुपर्छ भन्ने पूर्व अध्यक्षहरूको सोच हो ।”

महासङ्घमा वितमा राजनीतिक दलको चासो रहने गरेको थियो भने व्यवसायीहरू पनि गुटबन्दी गरेर चुनावमा होमिने गरेका थिए । नयाँ अध्यक्षका लागि पुराना अध्यक्षहरूको लडाइँ तीव्र हुनेगर्छ ।

यसपटक बदलिएको परिस्थितिमा राजनीतिक हस्तक्षेप कम देखिए पनि वर्तमान अध्यक्ष र भावी अध्यक्ष आमनेसामने जस्तो देखिएका छन् । पछाडिपट्टी पूर्वअध्यक्षहरूले समूहगत रूपमा सघाइरहेका छन् ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य धर्मराज सापकोटा भन्छन्,“भावी अध्यक्षका लागि अर्को समूह वा असहयोग गर्ने टिम बनाउनुभन्दा अध्यक्षलाई काम गर्न दिने टिम बनाउन दिनुपर्छ । भावी अध्यक्षलाई अनुकुल टिम बनाउन दिँदा सहमतिको वातावरण बनिहाल्छ नी ।”

महासङ्घमा एउटा समूह भावी अध्यक्षलाई आफ्नो टिम बनाउन दिनुपर्छ भन्ने पक्षमा छ भने वर्तमान अध्यक्ष चन्द्र ढकाल पनि निवर्तमान अध्यक्षको हैसियतमा महासङ्घलाई शक्ति सन्तुलनमा राखेर अगाडि बढ्न खोजेको देखिन्छ ।

चैत २९ र ३० गते हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्ने समय नजिकिदै गर्दा वर्तमान अध्यक्ष र भावी अध्यक्ष टकरावमा उत्रिएका छन् ।