७ हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द


काठमाडौँ । अनलाइन सट्टेबाजीसँग सम्बन्धित ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन पछि अनलाइन सट्टेबाजीसँग सम्बन्धित ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएको जनाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई यस्ता एप र युआरएल बन्द गर्न भनेको थियो । अनलाइन सट्टेबाजी बारे पछिल्लो एक सातामा ५० भन्दा बढी गुनासो प्राप्त भएपछि सम्बोधन गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद्को चैत १३ को निर्णय र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाको चैत १५ को निर्देशन पछि यस्ता एप र युआरएल बन्द गर्ने प्रक्रिया अघि बढेको थियो । यो २४ घण्टाभित्र बन्द गर्ने नीति अनुसार तत्काल कदम चालिएको हो ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी अवैध भनेको छ । यस्तो कसूर गरेमा एक वर्षसम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

विज्ञापन ऐन, २०६६ ले सट्टेबाजीसम्बन्धी प्रचारप्रसारमा प्रतिबन्ध लगाएको छ।