अमेरिकी सांसदको टिप्पणी ‘ट्रम्पको इरानसम्बन्धी धम्की मानसिक रूपमा असन्तुलन’


काठमाडौँ । अमेरिकी डेमोक्रयाटिकका एक नेताले राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो इरानसम्बन्धी धम्कीलाई मानसिक रूपमा असन्तुलन भनेर टिप्पणी गरेका छन् ।

अमेरिकी प्रतिनिधि सभा (यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्स) का एक सदस्यले इरानमा अमेरिकी सैन्य गतिविधिले अमेरिकाभित्रका मानिसहरूलाई अझै असुरक्षित बनाइरहेको चेतावनी दिएका छन् ।

उनले राष्ट्रपति ट्रम्पको इरानसम्बन्धी पछिल्लो अश्लील भाषायुक्त बयानलाई मानसिक रूपमा असन्तुलित भनेर टिप्पणी गरेका हुन् ।

हाउस रुल्स कमिटीका सबैभन्दा वरिष्ठ डेमोक्रयाटिक सदस्य जिम म्याकगभर्नले सामाजिक सञ्जाल एक्समा भनेका छन्,“जब अमेरिकाले अन्तर्राष्ट्रिय मानवीय कानुन कमजोर बनाउँछ तब अरूलाई पनि त्यही गर्न उक्साउँछ । यसले हामी सबैलाई कम सुरक्षित बनाउँछ ।”

उनले अमेरिकाको आचरणमा जेनेभा कन्भेन्सन तथा अन्तर्राष्ट्रिय कानुनका गम्भीर उल्लङ्घन र सम्भावित युद्ध अपराध देखिन सक्ने खतरा रहेको औंल्याएका छन् ।

अर्को छुट्टै पोस्टमा म्याकगभर्नले ट्रम्पका पछिल्ला धम्कीहरूलाई पूर्ण रूपमा नियन्त्रणबाहिर र अत्यन्तै खतरनाक भनेका छन् । उनले लेखेका छन्, “यो साइक्रयाटिक हो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति मानसिक सहयोग लिनुपर्छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले हर्मुज जलमार्ग नखोले ढुङ्गे युगमा फर्काउने चेतवनी दिएका छन् । चेतावनीमा दिइएको समयसिमा मङ्गलबार सकिदैछ ।