युद्धविराम सकिनुअघि हर्मुजमा तनाव बढ्दो,इरानी मालवाहक जहाज अमेरिकी सेनाको नियन्त्रणमा


काठमाडौँ । अमेरिकी नौसेनाले इरानको मालवाहक जहाज नियन्त्रणमा लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाअनुसार ओमानको खाडीमा लगाइएको नाकाबन्दी छल्न खोजेको एउटा इरानी मालवाहक जहाजमाथि अमेरिकी नौसेनाले गोली चलाएर नियन्त्रणमा लिएको हो ।

इरानले युद्धविरामकाबिच सैन्य षडयन्त्र गरिरहेको आरोप लगाउँदै चाँडै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकी सेनाका अनुसार इरानीजहाज नियन्त्रणमा लिनुअघि इरानतर्फ आउने र इरानी बन्दरगाहमा प्रवेश गर्न खोज्ने करिब २५ ओटा इरानी झण्डावाहक जहाजहरूलाई फर्काइएको थियो ।

यो घटनाले इरानतर्फ जानेआउने समुद्री यातायातमाथि अमेरिकी नाकाबन्दीमा कडाईदेखिएको छ र यसलाई तनावको अर्को रूपमा हेरिएको छ ।

वार्ताको प्रयास पनि चलिरहेको छ ।

ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्स तथा शीर्ष अमेरिकी अधिकारीहरू इरानसँगको शान्ति वार्ताको अर्को चरणका लागि पाकिस्तान जाने तयारीमा छन् तर होर्मुज जलमार्गको तनावका कारण वार्ताको स्थिति अझै अस्पष्ट छ ।

तेहरानले प्रतिनिधिमण्डल पठाउने विषयमा सार्वजनिक रूपमा पुष्टि गरेको छैन र केही सरकारी सञ्चारमाध्यमहरूले वार्ता नहुन पनि सक्ने सङ्केत गरेका छन् ।

अमेरिका र इरानबिचको युद्धविराम बुधबार समाप्त हुँदैछ ।

सिएनएनकाअनुसार शान्तिवार्तामा जटिलता छ ।

शान्ति प्रयासमा इरानको युरेनियम भण्डारको नियन्त्रण तथा विश्वव्यापी ऊर्जा आपूर्ति हप्तौँदेखि अवरुद्ध बनाइएको होर्मुज जलडमरू पुनः खोल्ने विषयजस्ता मुख्य अड्चनहरू रहेका छन् ।