अक्षय तृतीया पर्व मनाइँदै


काठमाडाैँ। प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू परम्परा अनुसार महत्वपूर्ण दिनका रुपमा पुजाअर्चना गरेर मनाइदैछ ।

अक्षयको शाब्दिक अर्थ अमर वा कहिल्यै नाश नहुने भन्ने हुन्छ । यस दिन गरिने दान, पुण्य, जप र तपको फल अनन्तसम्म कायम रहने धार्मिक विश्वास छ।

पौराणिक मान्यता अनुसार आजकै दिन ब्रह्माजीले प्राणी जगतको रचना गर्नुभएको थियो भने औपचारिक रूपमा सत्य युगको सुरुवात र द्वापर युगको समापन भई त्रेतायुगको आरम्भ पनि यसै तिथिबाट भएको मानिन्छ।

यस वर्षको अक्षय तृतीयाको अर्को मुख्य विषय शिव पार्वती विवाह महोत्सव हो। परम्परागत विश्वास अनुसार हिमालय पुत्री माता पार्वतीले बाल्यकालदेखि नै भगवान शिवलाई पतिको रूपमा पाउने संकल्पका साथ वर्षौँसम्म गरेको कठोर तपस्या आजकै दिन सफल भएको थियो।

ब्रह्मा र नारदजीको सहयोगमा अक्षय तृतीयाकै दिन शिव र पार्वतीको दिव्य विवाह सम्पन्न भएको पौराणिक कथा छ। यही कारणले गर्दा यो दिनलाई अक्षय प्रेम र समर्पणको प्रतीक मानिन्छ।

विशेषगरी महिलाहरूले आजको दिन राम्रो पति र वैवाहिक सुखको कामना गर्दै गौरी शंकरको विशेष पूजा आराधना गर्ने गर्दछन्। यो दिनलाई स्वयम् सिद्ध मुहूर्त मानिने हुनाले विवाह, गृहप्रवेश वा नयाँ व्यापार सुरु गर्न पञ्चाङ्ग हेरेर साइत जुराइरहनु पर्दैन।

संस्कृतिको पाटोबाट हेर्दा अक्षय तृतीयालाई ुसातु खाने दिनु का रूपमा पनि चिनिन्छ। बढ्दो गर्मीमा शरीरलाई शीतलता प्रदान गर्न जौ, मकै र गहुँ जस्ता अकुंरणयोग्य अन्नलाई भुटेर बनाइएको सातु र चिनी सखर मिश्रित सर्वत खानुको विशेष वैज्ञानिक महत्त्व रहेको छ।

माटोको भाँडाको शीतल पानीमा अलैँची, सुकमेल, मह र मरिच जस्ता मरमसला मिसाएर बनाइएको सर्वत र सातुले स्वास्थ्यमा सकारात्मक ऊर्जा प्रदान गर्दछ। यो परम्पराले हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ भन्ने कुरालाई समेत पुष्टि गर्दछ।

कृष्ण र सुदामाको प्रसङ्गदेखि नै यात्राका क्रममा सातु बोक्ने चलन रहेको पाइन्छ, जुन आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ।

अक्षय तृतीयाले अन्तर पुस्ता माया र सामाजिक उत्तरदायित्वलाई पनि जोडेको छ। आजको दिन वृद्धवृद्धाहरूलाई लौरो, छाता, जुत्ता र पौष्टिक खानेकुरा दान गर्ने चलन छ, जसले अघिल्लो पुस्ताप्रतिको सम्मान र स्नेहलाई दर्साउँछ।

आजको दिन सुन, चाँदी वा नयाँ सम्पत्ति खरिद गर्नु अत्यन्त लाभदायक मानिन्छ, जसले आर्थिक समृद्धिको द्वार खोल्ने विश्वास गरिन्छ।

महर्षि वेदव्यासले महाभारतको लेखन कार्य पनि आजकै दिनदेखि आरम्भ गरेको ऐतिहासिक दिन भएकाले आजको दिनको बौद्धिक र आध्यात्मिक उचाइलाई अझ बढाएको छ।