‘पोलिसी कब्जा’ र म्याक्रो सिन्डिकेटकाे अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस् : अर्थमन्त्री वाग्ले


काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताएका छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्नेगरी सरकार अघि बढेको बताए ।

पुराना अभ्यासहरूबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उल्लेख गर्दै उनले त्यसलाई ‘अन्तिम छटपटी’ भएकाे बताए । अर्थमन्त्री वाग्लेले अबको अर्थतन्त्र ‘लेभल प्लेइङ्ग फिल्ड’ र प्रतिष्पर्धामा आधारित हुने बताउँदै त्यो छटपटी धेरै नटिक्ने पनि दाबी गरे ।

उनकाअनुसार अब नियामक निकायहरूमा स्वच्छ, सफा र सक्षम मान्छेहरू आउँछन्, राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन अब सकिएका छन् । 

अर्थमन्त्री वाग्लेले भने, “बजेटमा सुशासनमा बिग हिट नै भनेका छौँ । त्यसैले यसमा म्याक्रो सिन्डिकेटहरू तोड्ने हो । पोलिसी कब्जाको जुन पुरानो अभ्यास थियो, त्योबाट हामी अब धेरै नै अगाडि आइसकेका छौँ । योबाट अत्तालिएकाहरूले अहिले चाहिँ केही भ्रमहरू छर्ने काम पनि गरिरहेका छन्, त्यो अन्तिम छटपटी हो जस्तो मलाई लाग्दछ ।”

उनले अब विचार र प्रतिभा भएका मानिसहरू लाइसेन्स लिनका लागि शक्ति केन्द्रको पछि दौडनु पर्ने अवस्थाको अन्त्य हुने दाबी गरे ।

अर्थमन्त्री वाग्लेका अनुसार अबको निजी क्षेत्र आफ्नो पुँजी र क्षमताको जगमा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्नेछ ।

उनकाअनुसार सुशासनलाई नागरिकको घरदैलोसम्म पुर्‍याउन ‘माइक्रो डेलिभरी‘ मा जोड बजेटमार्फत दिइएको छ ।

नागरिक एपजस्ता डिजिटल माध्यमबाट सरकारी सेवाहरू प्रवाह गर्दा विचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुनछ ।

सरकारी कार्यालय धाउन नपर्ने र कर्मचारी वा विचौलियालाई अतिरिक्त पैसा खुवाउन नपर्ने गरी हामीले नागरिक एपमा सयौँ सेवाहरू आबद्ध गर्ने तयारी भइरहेको उनकाे भनाइ थियाे ।


मन्त्री वाग्लेले मुलुकलाई आगामी बजेट उद्यममैत्री रहेको समेत बताउनु भयो  । सुशासनलाई केवल नारामा मात्र सिमित नराखी यसलाई एउटा संस्थागत संस्कृतिका रूपमा विकास गरिने प्रतिबद्धता समेत उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल