काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २०८२ पुसपछि झण्डै २ महिना अध्यक्षविहीन बनेकाे भेटिएकाे छ भने दुईजना नयाँ सञ्चालकको पदवहाली अझै अवैधानिक छ । कम्पनीले निर्णय सच्याउनुको साटो एकपछि अर्को ढाकछोप गर्दै गएको देखिएको छ ।
के भएको हो ?
नेपाल लाइफ इन्स्योरेन्सको २०८२ पुस १९ गते वीरगञ्जमा भएको २६ औँ साधारण सभाबाट संस्थापकहरूको तर्फबाट गोविन्दलाल संघई, ग्लोबल ट्रेडिङ् कन्सर्न प्रा.लि.का प्रतिनिधि कमलेश अग्रवाल र विवेक अग्रवाल सर्वसम्मतिमा सञ्चालक चयन भएका थिए ।
लगत्तै संघइलाई अध्यक्षमा चयन गरिएको थियो । दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका गोविन्दलाललाई बिमा प्राधिकरणले पद तथा गोपनीयताको सपथ गराएन ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका गोविन्दलालको प्रहरी रिपोर्ट क्लियरेन्स नभएपछि प्राधिकरणले पद तथा गोपनीयताको सपथ गराउन अस्वीकार गरेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सका सूचना अधिकारी बिनोद भुजेलले स्वास्थ्यका कारण गोविन्दलाल संघईले अध्यक्ष चयन भएर पनि सपथ ग्रहण गर्न नसकेको प्रष्टीकरण दिए ।
उनले भने, “साधारण सभाबाट अध्यक्ष हुनुभएपछि स्वास्थ्यका कारण सपथग्रहण गर्न नसक्नुभएको हो । उपचारपछि सपथग्रहण गर्छु भन्नुभएको थियो तर पछि ठिक नभएपछि नयाँ अध्यक्ष चयन गरिएको हो ।”
सूचना अधिकारी भुजेलले भने झुट बोलेको पाइएको छ । प्राधिकरणका नियमन महाशाखा प्रमुख शाम्भराज लामिछानेले भने प्रहरी रिपोर्ट क्लियरेन्स नहुँदा गोविन्दलाल संघाईलाई सपथ ग्रहण नगराएको जानकारी दिए ।
उनले भने,“उहाँलाई क्लियर रिपोर्ट ल्याउन भनेका थियौँ तर सक्नुभएन र सपथ ग्रहण नभएको हो ।”
यो बिचमा कम्पनीले गोविन्दलाल अध्यक्ष चयन भएको सम्बन्धित कुनै निकायमा जानकारी गराएको देखिँदैन ।
संघईमा कैफियत देखिएपछि कम्पनीले दुई सञ्चालकले मात्रै सपथ ग्रहण गरेर पद बहाली गरेको पत्र २०८२ माघ २१ गते मात्रै सम्बन्धित निकायमा पत्राचार गरेको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज लगायत सम्बन्धित निकायलाई पठाइएको पत्रमा ‘सञ्चालकज्यूहरू श्री कमलेशकुमार अग्रवाल र श्री विवेक अग्रवालले मिति २०८२/१०/२१ गते बसेको सञ्चालक समितिको ४०८ औँ बैठकमा बिमा ऐन–२०७९ बमोजिम सपथ ग्रहण गरी पद बहाली गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौँ’ भन्ने उल्लेख छ ।
दुईजना सञ्चालकले कोसँग सपथ ग्रहण गरे ?
२६ औं साधारण सभापछि नै नेपाल लाइफ इन्स्योरेन्स अध्यक्षविहीन भएको देखिन्छ । गोविन्दलाल संघईले सपथ ग्रहण गर्न नपाएपछि योबिचमा कसैले पनि कार्यवाहक जिम्मेवारी पाएको देखिँदैन ।
अध्यक्ष नै नभएको अवस्थामा प्रवर्धक समूहका नयाँ दुई सञ्चालक कमलेश अग्रवाल र विवेक अग्रवालले कोसँग सपथ लिए भन्नेसमेत गम्भीर प्रश्न उठेको छ । बिमा ऐन ७९ को उपदफा ६ अनुसार सञ्चालक समितिको अध्यक्षले प्राधिकरणको अध्यक्ष समक्ष र सञ्चालक समिति सदस्यले अध्यक्ष समक्ष सपथ लिएको हुनुपर्छ ।
कम्पनीले भने २०८२ माघ २१ गते सञ्चालक समिति बैठकमा सञ्चालक द्वयले सपथ ग्रहण गरेको भन्दै सम्बन्धित निकायमा जानकारी गराएको छ जबकि नेपाल लाइफमा अध्यक्ष नै नभएको अवस्था थियो । यसले दुई जना सञ्चालक समेत अहिलेसम्म अवैधानिक भएको देखिन्छ । प्राधिकरण नियमन महाशाखा प्रमुख लामिछानेले भने,“अध्यक्ष नभएको अवस्थामा कसरी सपथ ग्रहण गर्नुभयो ? यो प्रश्नको विषय त हो ।”
सम्बन्धित निकायमा सपथ ग्रहण गराई सकेको जानकारी दिएको अवस्थामा सञ्चालकहरू कम्पनी निर्णय प्रक्रियामा समेत सहभागी भइसकेको देखिन्छ । उनीहरू सहभागी भएर कम्पनीभित्र निर्णय गरिएका विषय के हुन्छ भन्ने समेत प्रश्न उठेको छ ।
दुईमहिनामा बल्ल अध्यक्ष चयन
गोविन्दलाल संघईले अध्यक्षको पदभार ग्रहण गर्न नपाएपछि २०८२ पुस १९ देखि २०८२ फागुन २४ गतेसम्म नेपाल लाइफ अध्यक्षविहीन भएको थियो । यसै बिचमा संघई अफ्ठेरोमा परेपछि २०८२ फागुन २४ गते सञ्चालक समितिको बैठक बस्यो । बैठकले गोविन्दलालले राजीनामा दिएको भन्दै राजीनामा स्वीकृत गरियो ।
२०८२ फाुगन २५ गते विहान ९ बजे फेरि सञ्चालक समितिकाे अर्को बैठक बस्यो र पुरुषोत्तमलाल संघईलाई सञ्चालक समितिको अध्यक्ष बनायो ।
अनौठो राजीनामा स्वीकृति !
गोविन्दलाल संघई दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न खोजेका थिए । अध्यक्ष चयन नभएपछि उनको अध्यक्ष मात्रै होइन कि सञ्चालक समिति सदस्यको बैधानिक हैसियत थिएन ।
यद्यपि २०८२ फागुन २४ गते उनले सञ्चालक समिति पदबाट राजीनामा दिएकाले स्वीकृत गरिएको भनियो । बीमा कम्पनीको सञ्चालकमा नियुक्त भइसके पनि सपथ ग्रहण नगरेको व्यक्ति पद बहाल गरेको मानिँदैन ।
यस्तो अवस्थामा गोविन्दलालको राजीनामा कानुनी रूपमा स्वीकृत गर्नुपर्ने बाध्यता हुँदैन । अवैधानिक गोविन्दलालको राजीनामा स्वीकृत गर्नुको कुनै अर्थ नभएको जानकारहरू बताउछन् ।
२०८२ फाुगन २५ गते विहान ९ बजे फेरि सञ्चालक समितिकाे अर्को बैठक बस्यो र पुरुषोत्तमलाललाई सञ्चालक समितिको अध्यक्ष बनायो ।
कम्पनीले फागुन २५ गते नै नेपाल स्टक एक्सचेञ्जसहितका निकायलाई जानकारी गरायो ।
यसमा सञ्चालक समिति बैठकले सोही दिन अध्यक्ष चयन गर्न सक्थ्यो तर सञ्चालकले ‘भत्ताको लोभमा’ अर्कोदिन फेरि बैठक राखेर अध्यक्ष चयन गरेको कम्पनीभित्रै टिप्पणी हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्