काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धलाई थप बढाउनु पर्ने ‘कुनै कारण नभएको’ बताएका छन् ।
आफ्नो पार्टीले निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक ‘सिबिएस न्युज’ सँगको कुराकानीमा उनले इरानसँगको युद्धका विषयमा यस्तो टिप्पणी गरेका हुन् ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले मतदाताहरूले इरानसँगको युद्ध र त्यसका कारण इन्धन (पेट्रोल) को मूल्य बढेको कुरालाई ‘रुचाएका थिएनन्’ भनी उल्लेख गरे । उनले थप्दै भने, “अहिले अचम्म लाग्दो गरी इजरायलप्रति पनि मानिसहरूमा ठुलो असन्तुष्टि देखिएको छ ।”
उनले इरानसँगको युद्धलाई थप चर्काउने आफ्नो कुनै योजना नरहेको स्पष्ट पार्दै भने, “उनीहरूसँग केही पनि छैन । उनीहरूको आणविक सामग्री हजारौँ टन चट्टानमुनि पुरिएको छ ।”
इरानको ‘पिकएक्स’ पर्वतमा रहेको भनिएको आणविक केन्द्रमा आजकल एकदमै कम गतिविधि भइरहेको दाबी गर्दै ट्रम्पले भने, “यदि हामीलाई पिकएक्समाथि कारबाही गर्नुपर्ने आवश्यकता भयो भने, हामी त्यसलाई एक घण्टामै सिध्याइदिन सक्छौँ ।”
यसका साथै हर्मुज जलमार्ग खुल्ला रहेको र त्यहाँबाट जहाजहरू आवतजावत गरिरहेको उनले दाबी गरे।
त्यस जलक्षेत्रमा अमेरिकी नौसेनाले दिँदै आएको सुरक्षा स्कर्टिङको खर्चबारे सोधिएको प्रश्नमा उनले कडा रूपमा भने, “हामीले सुरक्षा प्रदान गरेका ती देशहरूले यो युद्धमा हाम्रो जति पनि खर्च भएको छ, त्यो सबै फिर्ता गर्नुपर्नेछ । किनभने हाम्रो सहयोग बिना उनीहरूको अस्तित्व रहने थिएन । हामी बिना इस्रायलको अस्तित्व पनि सम्भव थिएन ।”
अमेरिकामा भर्खरै (नोभेम्बर २०२६) सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले ठुलो धक्का बेहोरेको छ ।
उपराष्ट्रपति जेडी भेन्स र स्वयं ट्रम्पले पनि के स्वीकार गरेका छन् भने, इरानसँग लामो समयदेखि चलिरहेको युद्ध र त्यसका कारण अमेरिकामा बढेको इन्धनको मूल्यका कारण अमेरिकी मतदाताहरू आक्रोशित थिए । निर्वाचनमा भएको यही हारका कारण ट्रम्प अहिले युद्धलाई थप चर्काउने भन्दा पनि मत्थर पार्ने रणनीतिमा लागेको विश्लेण गरिएको छ ।
इरानको नतान्ज आणविक केन्द्र नजिकै रहेको ‘पिकएक्स’ पर्वत क्षेत्रमा इरानले जमिनमुनि १०० मिटरभन्दा गहिरो सुरुङ बनाएर आफ्ना अत्याधुनिक आणविक उपकरण तथा संवद्र्धित युरेनियमलुकाएको अमेरिकी र इजरायली गुप्तचरहरूको दाबी छ ।
निर्वाचनअघिसम्म ट्रम्पले यस पहाडलाई शक्तिशाली बङ्कर–बस्टर वा अन्य बमले ‘एक घण्टामै’ ध्वस्त पारिदिने धम्की दिँदै आएका थिए । तर अहिले निर्वाचनमा जनमत विरुद्ध गएको देखेपछि उनले त्यहाँ “अचेल खासै गतिविधि नभएको”भन्दै पछि हटने बहाना खोजेको अन्ताराष्ट्रिय मिडियाले विश्लेषण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्