सङ्खुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण


काठमाडौँ । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको सङ्खुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमबिच कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङलाई एम्बुलेन्सको साँचो तथा आवश्यक कागजात हस्तान्तरण गरे ।

एम्बुलेन्स हस्तान्तरण गर्दै अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रमा बिरामीले अस्पताल पुग्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए ।

“जीवनभन्दा ठुलो केही छैन, उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” उनले भने ।

गाउँपालिका अध्यक्ष मेवाहाङले एम्बुलेन्सले स्थानीय बासिन्दाको स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले आपतकालीन अवस्थामा छिटो र सुरक्षित रूपमा बिरामीलाई अस्पताल पुर्‍याउन अब सहज हुने बताए ।

भौगोलिक रूपमा विकट र सडक सञ्जाल सीमित रहेको सिलीचोङ गाउँपालिकामा बिरामीलाई समयमै स्वास्थ्य संस्था पु¥याउन कठिनाइ हुने गरेको छ ।

यस्तो अवस्थामा एम्बुलेन्स हस्तान्तरणलाई स्थानीयले महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

हाल गुँरास हाइड्रोपावर परियोजना सोही गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको छ ।

स्थानीयवासीले एम्बुलेन्स हस्तान्तरणलाई स्वागत गर्दै यसले स्वास्थ्य सेवामा ठुलो राहत पुग्ने अपेक्षा गरेका छन् ।