काठमाडौं । सरकारले पश्चिम एशियामा रोजगारीका लागि जाने नेपाली कामदारका लागि श्रम स्वीकृति तथा वैधानिकीकरण (लिगलाइजेसन) प्रक्रिया पुनः खुला गरेको छ। यससँगै रिएन्ट्री भिसाका लागि अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) आवश्यक नपर्ने भएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्थायी रूपमा बन्द गरेको श्रम स्वीकृतिसम्बन्धी सबै सेवा पुनः सञ्चालनमा ल्याइसकेको जानकारी दिए।
उनका अनुसार सरकारको निर्णय कार्यान्वयनका लागि सम्बन्धित देशका नेपाली दूतावासहरूलाई निर्देशन दिइसकिएको छ। साथै, पश्चिम एशियास्थित नेपाली नियोगहरूलाई कामदार मागपत्र प्रमाणीकरण प्रक्रिया पनि पुनः सुरु गर्न भनिएको छ।
खड्काले विदेशमा रहेका नेपालीहरूको विवरण अभिलेखीकरणलाई व्यवस्थित बनाउन कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको रजिस्ट्रेसन पोर्टललाई स्थायी रूपमा निरन्तरता दिने निर्णय गरिएको बताए। उनले विशेष गरी पश्चिम एशियामा रहेका नेपालीलाई आफ्नो विवरण नियमित रूपमा अद्यावधिक गर्न आग्रह गरे।
त्यस्तै, परराष्ट्र मन्त्रालयले आपतकालीन नियन्त्रण कक्षको सेवा २४ सै घण्टा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। अब दिन–रात दुवै समयमा सेवाग्राहीका गुनासा, प्रश्न र सुझावमा तत्काल प्रतिक्रिया दिने गरी कर्मचारी परिचालन गरिनेछ।
उद्धार उडानलाई निरन्तरता दिन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्समार्फत भइरहेको उडानलाई जारी राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अनुरोध पठाइएको पनि उनले बताए।
सरकारले यसअघि रिएन्ट्री भिसाका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमार्फत एनओसी लिनुपर्ने व्यवस्था गरेको थियो। तर, अहिले नेपालबाटै श्रम स्वीकृति लिएर जान सकिने अवस्था बनेकाले उक्त व्यवस्था हटाइएको खड्काले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्