काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्र निर्माणको कामलाई सरकारको मात्रै काम हो भनेर बुझ्न नहुने बताएका छन् ।
गैरआवासीय नेपाली संघले शुक्रबार काठमाडौँमा आयोेजना गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपाली संघबाट थप भुमिकाको अपेक्षा गरिएको पनि स्पष्ट पारे । उनले राष्ट्र निर्माणमा सबै पक्षको उत्तिकै सशक्ति भुमिका हुनुपर्ने उल्लेख गर्दै त्यसमा प्रवासी नेपालीको भुमिका अझै सशक्त हुनुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष दाहालले नेपालबाट युवा पुस्तालाई पलायन हुन नदिने कुरामा पनि सम्बन्धित पक्षले जोड दिनुपर्ने बताए ।
उनले भने, “संघले नेपालको संविधान, ऐन, कानूनको अधिनमा रही देशको विकास र समृद्धिका लागि थप भुमिका निर्वाह गर्नेमा विश्वस्त छु । साथै देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्ने र आफ्नो सीप र क्षमतालाई स्वदेशमा नै उपयोग गर्न संघले सशक्त भुमिका निर्वाह गर्नेछ भन्नेमा पूर्ण विश्वास लिएको छु । राष्ट्र निर्माण केवल सरकारको काम मात्रै होइन । यो सबैको साझा दायित्व हो । जहाँ राज्यको भुमिका हुन्छ, समाजको भुमिका हुन्छ, नागरिकको भुमिका हुन्छ । बुद्धिजीवि र युवा पुस्ताको भुमिका हुन्छ । र, प्रवासी नेपाली समूदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।”
अध्यक्ष दाहालले राष्ट्र निर्माणको अभियानमा युवाहरुलाई प्रेरित गरेर अघि बढ्नुपर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्