स्थानीय तहले अनुत्पादक क्षेत्रमा मात्रै लगानी गर्दैनन्ः माधव सापकोटा


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले स्थानिय तहले अनुत्पादक क्षेत्रमा मात्रै लगानी नगर्ने बताएका छन् । 
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले स्थानिय तहले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न थालिसकेको बताए । जुगल क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यको रूपमा ‘जुगल माउण्ट एभरेस्ट भ्यू प्वाइन्ट’ पहिचान गरेर जुगल गाउँपालिकाले त्यसलाई प्रमाणित गरेको उनको भनाइ छ ।

स्थानीय तहका बजेट प्रायः अनुत्पादक क्षेत्रमा खर्च भइरहेको आलोचना भइरहँदा जुगल गाउँपालिकाले पर्यटन पूर्वाधारमा लगानी गरेर सकारात्मक सन्देश दिएको उनले बताए । उनले पर्यटकीय क्षेत्रको पहिचानसँगै त्यस क्षेत्रको पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

बलेफीदेखि तेम्बाथानसम्मको सडक स्तरोन्नति सन्तोषजनक नभएको उल्लेख गर्दै सापकोटाले जुगल हिमालसम्म सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । यद्यपि, मोटर बाटो बेस क्याम्पसम्म पु¥याउने वा निश्चित बिन्दुसम्म सीमित गर्ने भन्ने विषयमा अझै स्पष्ट निर्णय हुन नसकेको उनको भनाइ छ ।

उनले मानव बस्तीभन्दा माथिल्लो क्षेत्रमा प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बस्तीसम्म मात्र सडक विस्तार गरेर त्यसपछि पदमार्ग विकास गर्नुपर्ने उनको भनाइ छ । उनले जुगल ट्रेकमा ३६ करोड रुपैयाँ बराबरको लगानीमा पूर्वाधार बनिसकेको जानकारी दिए । 

उनले यो ट्रेकमा दीर्घकालीन रुपमा फोहरमैलाको व्यवस्थापन लगायतका कुरमा ध्यान दिनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासको लागी १७ करोड लगानीमा बलेफी नजिकै पर्यटकीय विद्यालय नै भनेर पूर्वाधार तयार पारिसकेको जानकारी दिए ।

यसले पर्यटकी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उनको भनाइ छ । उनले जुगल, सुकुटे, भैरवकुण्ड, कालिञ्चोकसबैलाई जोडेर एकीकृत ढङ्गले लैजाने र त्यहाँ चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेगरि पर्यटकीय स्कुल सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

वागमती प्रदेशका प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जुगल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताए । उनले बलेफी गाउँपालिकामा ¥याफ्टिङ विद्यालय सञ्चालनको तयारी भइरहेको र जुगल क्षेत्रमा माउण्टेनियरिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने योजना रहेको जानकारी दिएका हुन्।

पौडेलले जुगल हिमाल, भैरवकुण्ड, पाँचपोखरी र हेलम्बु लगायत क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिए । साथै, पर्यटकलाई सुरक्षित र व्यवस्थित सेवा दिन प्रारम्भदेखि नै स्पष्ट सूचना, पूर्वाधार र मार्गदर्शन आवश्यक रहेको उनको भनाइ छ ।

उनले जुगल हिमाल क्षेत्रमा बेस क्याम्प जोड्ने पुल बनाउनेमा बारेमा अध्ययन गरिरहेको पनि जानकारी दिए । पर्यटन प्रवद्र्धनसँगै स्थानीय संस्कृति संरक्षण, पूर्वाधार विस्तार र दीर्घकालीन योजना आवश्यक रहेकामा उनले जोड दिए ।