मनास्लु हिमालको हीरक महोत्सव हुने


काठमाडाैँ । मनास्लु हिमालको हीरक महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

संघका अध्यक्ष फुल गेल्जे शेर्पाले यही वैशाख २६ र २७ गते सो हिमालको हीरक महोत्सव आयोजना गर्न लागेकाे बताए । सो हिमाल आरोहण गरेको ७० वर्ष पुगेर अवसर पारेर सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपालको विकास पर्वतीय पर्यटनबाट मात्रै सम्भव भएकाले त्यसका लागि आवश्यक प्रचार गर्न सो कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ । संघका अध्यक्ष शेर्पाले नेपालको विकासका लागि पर्यटन क्षेत्रको विकासमा लाग्न सरकारलाई दबाब पुगोस् भनेर सो कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने, “हामी सबैलाई थाहा भएको कुरा हो–नेपालको विकासको सम्भावना छ । यदि त्यो सम्भव छ भने पर्वतीय पर्यटनको माध्यमबाट हो । पर्यटनको विकासबाट मात्रै यो सम्भव छ । हामी सबै नेपालको सबै क्षेत्रको शीर हिमाल हो । हामी सबैले हाम्रो हिमाललाई चिन्न सक्नु पर्दछ । आजको दिनसम्म नेपाल राज्यले हिमाललाई चिन्न सकेन । अव हामी आशा गर्दछौ कि पर्वतीय पर्यटनको माध्यामबाट नेपालको विकास हुन्छ भन्ने मैले विश्वास गरेको छु । नेपालको विकास पर्यटनको क्षेत्रबाट हुन्छ भनेर सरकारलाई दबाब दिनुपर्दछ ।”

सो महोत्सव कार्यक्रममा नेपालस्थित जापानिज दुतावास र स्विस सरकारले पनि सहयोग गर्ने नेपाल पर्वतारोहण संघले जनाएको छ । यसको आरोहण सर्वप्रथम ९, १९५६ मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो ।

भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ ।