महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुँदै


काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) ले कोशी प्रदेशको विराटनगरमा राष्ट्रिय स्तरको वमन लिडरसिप समिटको तयारी पूरा भएको छ । वमन लिडरसिप फोरमले संयोजन गरेको यस समिट यही बैशाख २१ गते हुँदैछ ।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, उद्योग विभागसँगको सहकार्यमा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा समिट हुन लागेको हो ।

विहिबार परिसंघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनमा केन्द्रित रहने बताए ।

सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिबृद्धि, स्थानीय कृषि, सीप, नवप्रबर्तन तथा उद्यमशीलता प्रबद्र्धन तथा वर्तमान एवं सफल व्यवसायिक उदाहरणहरूमा केन्द्रित तथा उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत हुने उहाँले जानकारी गराए ।

सम्मेलनको आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलता कथा प्रस्तुती, फोनपे सहित डिजिटल नवप्रवर्तन सम्बन्धी छलफल, स्वदेशी वस्तुहरुको प्रर्दशनी, उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबिच नेटवर्किङ रहेको सिएनआई वमन लिडरसिप फोरमकी सभापति विदूषी राणाले बताइन् ।

यस सम्मेलनले महिला उद्यमीहरू, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने विश्वास परिसंघले लिएको छ ।

निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ ।

परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति÷परिषद्÷फोरम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिदै आउनुका साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।