भारतमा व्यावसायिक प्रयोजनको एलपी ग्यासको मूल्यमा भारी वृद्धि


मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावका कारण भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने १९ किलोग्रामको तरल पेट्रोलियम ग्यास (एलपी ग्यास) को मूल्यमा उल्लेख्य वृद्धि गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रवारदेखि लागू हुनेगरी प्रतिसिलिण्डर ९९३ भारतीय रुपैयाँले मूल्य बढाइएको हो ।

पछिल्लो मूल्य वृद्धिसँगै अब व्यावसायिक सिलिण्डरको मूल्य ३ हजार ७१.५० भारतीय रूपैयाँ पुगेको छ । ग्यासको मूल्य बढेसँगै होटल, रेस्टुरेण्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा खाद्य सामग्रीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।

मध्यपूर्वमा तनाव शुरु भएयता व्यावसायिक ग्यासको मूल्य वृद्धि भएको यो तेस्रो पटक हो । यसअघि मार्च महिनामा प्रति सिलिण्डर १४४ भारतीय रुपैयाँ र अप्रिल १ मा २०० भारतीय रुपैयाँले मूल्य वृद्धि गरिएको थियो ।

भारत सरकारले व्यावसायिक तथा घरायसी दुवै प्रयोजनका लागि ग्यासको आपूर्ति सहज रहेको दाबी गर्दै आएको छ । यद्यपि सरकारी तथ्याङ्कअनुसार भारतले आफ्नो कुल मागको ६० प्रतिशतभन्दा बढी एलपी ग्यास आयात गर्ने गर्दछ ।

भारतले मुख्यतया संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र कुवेतजस्ता देशहरूबाट ग्यास आयात गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण ग्यासको मूल्यमा पटक–पटक समायोजन गर्नुपरेको बताइएको छ ।