काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको चुनावी तयारी अन्तिम चरणमा पुग्दा ‘क्रस भोटिङ्’को सम्भावना देखिएपछि दुबै समूह सचेत बनेका छन् ।
वस्तुगतमा एउटा समूहको नेतृत्व उपाध्यक्षका उम्मेदवार शिव घिमिरेले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व उपाध्यक्ष नरेशलाल श्रेष्ठले गरिरहेका छन् ।
१२४ मतदाता रहेको वस्तुगततर्फका मतदातामा (१०७ वस्तुगत सङ्घ र १७ महासङ्घ सदस्य) क्रस भोटिङको सूचनापछि वस्तुगतको दुबै समूहमा हल्लीखल्ली भएको छ ।
स्रोतहरूकाअनुसार १५ देखि २० प्रतिशत मत क्रस हुने अनुमानकाबिच दुबै पक्षले आफ्ना मत सुरक्षित गर्ने प्रयास गरिरहेका छन् । स्रोतले भन्यो,“जति प्रयास गर्दा पनि अहिलेसम्म १५ देखि २० प्रतिशत मत दायाँबायाँ हुने सम्भावना छ । मतदानका बेलासम्म दुबै समूहले आफ्नो मत सुरक्षित गर्न पनि सक्छन् ।”
पछिल्लो १८ वस्तुगत सङ्घले मताधिकार नपाएपछि उपाध्यक्षका उम्मेदवार शिव घिमिरे समूह फाइदामा छ । घिमिरे समूहको दाबीअनुसार उनीहरूको प्यानल सुविधाजनक बहुमतमा छ ।
नरेशलाल श्रेष्ठ समूह पनि नतिजा आफ्नो पक्षमा हुने विश्वासमा छ । घिमिरे समूहलाई भावी अध्यक्ष अन्जन श्रेष्ठको समर्थन रहेको छ भने श्रेष्ठ समूहलाई वर्तमान उपाध्यक्ष हेमराज ढकालको साथ रहेको छ ।
बस्तुगतमा एक उपाध्यक्ष, एक महिलासहित १४ र महासङ्घबाट २ जना निर्वाचित हुने छन् । यसका लागि उपाध्यक्षका लागि घिमिरे र श्रेष्ठ चुनावी मैदानमा छन् भने केन्द्रीय कार्यकारिणी समितितर्फ २ महिलासहित २८ जना चुनावी मैदानमा छन् ।
स्रोतकाअनुसार कार्यकारिणी समिति सदस्यमा ५ देखि ७ सदस्य तलमाथि हुने सूचनापछि दुबै समूह झस्किएका हुन् । दुबै पक्षले क्रस भोटिङको सम्भावना रहेका मतदातालाई सुरक्षित गर्न विभिन्न उपाय अपनाइरहेको स्रोतको भनाई छ ।
महासङ्घमा एसोसिएट्स, जिल्लानगर र वस्तुगत गरेर क्षेत्र विभाजन गरिए पनि वस्तुगत सङ्घको चुनावी रौनक सबैभन्दा बढी छ । यसपटक वस्तुगतबाट उपाध्यक्ष जित्ने उम्मेदवार महासङ्घको भावी नेतृत्वको दाबेदार हुने भएकाले पनि वस्तुगत सङ्घको चुनावी रौनक बढी देखिएको छ।
महासङमा नयाँ नेतृत्वका लागि यही वैशाख २२ गते निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्